बाँके घटनामा गृहमन्त्रीको स्पष्टीकरण :

‘नेकपाको निर्देशन होइन, कार्यकर्ता संलग्न हुनसक्छन्’

हेटौंडा टुडे
२९ भाद्र २०७६, आईतवार १५:१५

२९ भदौ, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले बाँके घटना सत्तारुढ पार्टीले निर्देशनमा नभएको बताएका छन् । तर नेकपाका कार्यकर्ता संलग्न हुने सक्ने उनले स्वीकार गरे ।

प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा कांग्रेस सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै गृहमन्त्री बादलले सत्ताधारी पार्टीले कांग्रेसको कार्यक्रम विथोल्ने निर्णय नगरेको बताए । उनले भने, ‘नेकपाका कार्यकर्ता हुनसक्छ तर नेकपाको नीति निर्देशन होइन ।’

यो घटना राजनीतिक रुपमा भएको भन्दा देशभरका स्थानीय तहमा शान्ति सुरक्षामा चुनौती उत्पन्न हुनसक्नेतर्फ गृहमन्त्रीले कांग्रेसको ध्यानाकर्षण गराए । उनले भने, ‘यो घटनालाई राजनीतिक रुपमा नलिन सम्बद्ध सबैमा अनुरोध गर्न चाहन्छु ।’

उनले घटनालाई सरकारले गम्भीर रुपमा लिएको बताए । केही पक्राउ परिसकेको भन्दै गृहमन्त्रीले दोषीहरुलाई कारबाही गर्ने प्रतिवद्धता जनाएका छन् ।

राष्ट्रिय जागरण अभियान अन्तरगत २६ भदौमा बाँकेको खजुरामा कांग्रेसले आयोजना गरेको कार्यक्रममा नेकपा कार्यकर्ताले आक्रमण गर्दा जिल्ला सभापति किरण कोइरालाको हात भाच्चिएको छ भने अरु केही घाइते भएका छन् ।

घटनामा संलग्न भएको आरोपमा निर्मल खत्री, रोशनसिंह ठकुरी र लोकबहादुर शाहीलाई पक्राउ गरेर अनुसन्धान भइरहेको गृहमन्त्री थापाले जानकारी दिए । ‘घटनामा संलग्न जोकोहीलाई कानून कारबाही गर्न मन्त्रालय दृढ छ,’ थापाले भने ।

उनले यस्ता कार्यक्रम आयोजना गर्दा स्थानीय प्रशासनलाई जानकारी दिन पनि उनले आग्रह गरे ।

Source: https://www.onlinekhabar.com/

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*