सरकार गरिबको हैन, आफ्ना नेताको समृद्धिमा लागेको छ : नेता बानियाँ

हेटौंडा टुडे
४ आश्विन २०७६, शनिबार २०:०८

नेपाली कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता एवं मकवानपुर सभापति ईन्द्रबहादुर बानियाँले वर्तमान सरकार गरिवको नभई आफ्ना नेताहरुको समृद्धिमा लागेको बताएका छन् ।

नेपाल शिक्षक संघ बाग्मति गाउँपालिकाको आयोजनामा भएको शुभकामना आदानप्रदान कार्यक्रम एवं पार्टीको प्रशिक्षण कार्यक्रममा बोल्दै नेता बानियाँले वर्तमान सरकार गरिबको समृद्धिमा काम गर्नुको सट्टा आफ्ना नेताहरुको समृद्धिमा जुटेको बताए । उनले आफ्ना नेताहरुको समृद्धिमा लागेकाले जनतामा सरकारप्रति आक्रोश बढिरहेको बताए । वर्तमान सरकारको कार्यशैलीले कम्युनिष्ट नेताहरुमात्रै धनी हुने उनको दावि थियो । गरिब जनतालाई करको बोझ थोपर्ने, भ्रष्टाचार बढाउने र दण्डहिनतालाई प्रोत्साहन गर्नेतर्फ सरकार अघि बढेको नेता बानियाँले जिकिर गरे ।

सरकारको असफलताको फाइदा उठाउँदै व्यवस्था असफल बनाउन चाहनेहरु सक्रिय भईरहेको भन्दै उनले सबै सचेत हुनुपर्नेमा जोड दिए । यस्ता तत्वहरुको प्रतिकार गर्न र सरकारको गलत कामको भण्डाफोर गर्न नेता कार्यकर्तालाई निर्देशन दिंदै नेता बानियाँले जनताको समस्या समाधानमा कांग्रेस नेता कार्यकर्ताले साथ दिनुपर्नेमा जोड दिए ।

नेपाल शिक्षक संघ बाग्मति गाउँपालिका सभापति जयनेपाल थापाको सभाध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय प्रतिनिधि प्रेमचन्द्र दाहाल, जिल्ला सचिव बुद्ध लामा, कोषाध्यक्ष गोपिलाल विक, प्रवक्ता प्रदिप कोइराला, महासमिति सदस्य धर्म लामिछाने, जिल्ला सदस्य शेरबहादुर लामा, प्रतिनिधिसभा क्षेत्र नम्बर १ का सभापति दामोदर खनाल, हेटौँडा नगर सभापति आनन्दराम पराजुली, दलित संघकी केन्द्रीय सदस्य पवित्रा विश्वकर्मा, शिक्षक संघ जिल्ला अध्यक्ष रामकुमार अधिकारी, बाग्मति गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष डिल्लीप्रसाद घोरासैनी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

जिल्ला सदस्यहरु, विभिन्न भातृ संगठनका पदाकिारी, तथा पार्टीका नेता कार्यकर्ताहरुको सहभागिता रहेको कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी नेकपाका २० जना कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*