व्यंग्यका नयाँ बादशाह

विदेशमा लोकप्रिय बनेको स्ट्यान्ड–अप कमेडी नेपालमा बामे सर्दै
हेटौंडा टुडे
२७ माघ २०७६, सोमबार १४:४५

कुनै बेला हास्यव्यंग्यमा अरूको नक्कल अपरिहार्य ठानिन्थ्यो । क्यारिकेचरमा पात्रकै हाउभाउ र वेशभूषा । अझ हास्य कलाकार आफ्नो परिचयभन्दा पात्रबाट लोकप्रिय हुन्थे ।
नेपाली हास्यव्यंग्य यसरी नै हुर्की बढ्यो । अघिल्लो पुस्तालाई भैरव अर्यालका हास्यव्यंग्यले गोरेटोमा हिँड्न कुनै न कुनै रुपमा मद्दत मिल्यो । अहिलेका स्थापित प्राय: हास्य कलाकार त्यही ढोका पार गर्दै आएका हुन् । कति सफल भए, कतिले आधा बाटोमै सपना मोडे ।
अहिले अवस्था फेरिएको छ, नौलो प्रविधिमा नयाँ अभ्यास । हास्यव्यंग्यका अनेकन ढोका खुलेका छन् । जस्तो, स्ट्यान्ड–अप कमेडी । पछिल्लो पुस्ताले रुचाएको यो शैली नेपालमा बामे सर्दै छ । स्ट्यान्ड–अप कमेडियनमध्येका एक हुन्, आदर्श मिश्रा । उच्च शिक्षाका लागि बाराबाट काठमाडौँ आएका मिश्रा दुई वर्षदेखि स्ट्यान्ड–अप कमेडी गर्दै छन् ।
सामाजिक विषयवस्तुलाई केन्द्रमा राखेर हास्यव्यंग्य गर्ने उनका पछिल्ला शृंखलामा दाइजो प्रथा, खुला दिसापिसाब, छोराछोरीबीचको भेदभाव समेटिए । जारी कमेडी च्याम्पियनका प्रतियोगी उनका यी शृंखलाले सामाजिक दायित्वबोध गरेको छ । भलै उनी ‘हास्य कलाकारले सामाजिक मुद्दा उठान गरेको नभई फरक शैलीबाट दर्शकलाई हँसाएको’ रुपमा व्याख्या गर्छन् । मिडिया स्टडिज अध्ययन गरिरहेका मिश्रा धाराप्रवाह कमेडी मात्र गर्दैनन्, बीचबीचमा ‘भोजपुरी लवज’ ले झनै मिठास थपिदिन्छन् पनि ।
बीचबीचको व्यंग्यले हाँसोको फोहोरा छुट्छ । उनी भन्छन्, “कति सजिलै हँसायो भन्ने लाग्छ होला तर कक्षामा झैँ बसेर स्क्रिप्ट लेख्नुपर्छ, रट्नुपर्छ । हँसाउन झन् गाह्रो छ ।”

 सुमन, आदर्श र विष्णु

विदेशका टेलिभिजन हेरेर कमेडीको मजा लिने युवायुवतीले अहिले स्वदेशमै हास्यरस पाएका छन् । ०४२ मा नेपाल टेलिभिजनको स्थापना भएपछि यहाँ पनि हास्यव्यंग्य विधाले उचाइ नपाएको होइन । तर टेलिभिजन सेटमा हास्यसिरियलको ग्ल्यामर बिस्तारै ओरालो लाग्यो, अहिले औँलामा गन्न सकिने मात्र छन् । लुट सिनेमाले व्यंग्य क्षेत्रलाई मलजल गर्‍यो नै । स्थापित कलाकार हास्य सिनेमातिर लागिरहेका बेला अवसरको ढोका खुलेको
छ, हास्यव्यंग्यमा ।
युट्युब च्यानलमा उपलब्ध स्ट्यान्ड–अप कमेडीलाई मलजल गर्ने काम कमेडी च्याम्पियनले गरिदिएको छ । यही शैलीलाई पछ्याउँदै छन्, हिमेश पन्त । उच्च शिक्षाका लागि धादिङबाट काठमाडौँ पुगेका उनी रसायनशास्त्रका विद्यार्थी हुन् । लक्ष्य वैज्ञानिक बन्ने अनि रुचि हास्यव्यंग्य । भन्छन्, “कमेडीमा समय दिन सक्छु भनेरै रसायनशास्त्र रोजेको हुँ । कमेडीलाई दिनको केही घन्टा दिएर अगाडि बढाइरहेको छु ।”
अहिले पछ्याइहेको स्ट्यान्ड–अप शैली नेपाली परिवेशका लागि नौलो भए पनि क्रेज बढेको उनी ठान्छन् । पन्त कमेडी च्याम्पियनका प्रतियोगी मात्र होइनन्, विद्यार्थी हँसाउन स्कुल, कलेजसमेत पुग्छन् ।
हास्य कलाकारको सपना बोकेरै स्याङ्जाबाट काठमाडौँ हिँडेका विष्णुप्रसाद गौडेल (मेक्साम) सानो छँदै तर्कवितर्क गर्थे । अरुभन्दा फरक लवज र शैलीबाट प्रस्तुत हुन्थे । हरेक विषयलाई रोचक ढंगबाट प्रस्तुत गर्दा साथीभाइ हाँस्थे । उनी हास्य कलाकारको प्रस्तुति सुनेर र हेरेर सिक्न थाले ।
जानीनजानी गाउँघरमै कला प्रस्तुत गरिरहेका उनी कमेडी च्याम्पियन हुने भएपछि यहाँ आए, भाग लिए । गौडेललाई यहाँको अभ्यास नौलो लाग्यो । स्क्रिप्ट लेखेर पहिलो पटक अभ्यास गर्ने मौका पाए । भन्छन्, “मेरो कार्यक्षेत्र हास्यविधा नै हो भनेर अनुभूति भइसकेको छ ।”

हिमेश, सुमन र खड्ग

हास्य कलाकारलाई लागिरहन्छ– दर्शकले प्रस्तुति मन पराउँछन् कि पराउँदैन्, हँसाउन सकिएन भने ? उनी भन्छन्, “स्टेजमा चढ्दै गर्दा हँसाउन सकिएन भने सफल भइँदैन कि भन्ने पीर त हुन्छ नै ।” हास्य कलाकारमा ह्युमर चाहिन्छ नै । ह्युमर त्यो हो, कमेडी सुनेपछि धेरै समयपछि पनि सम्झिएर हाँसून् । त्यसका लागि पन्चलाइन चाहिन्छ नै । व्यंग्य त्यो हो, जसमाथि गरिएको छ, त्यही मान्छे पनि सुनेर हाँसोस् ।
सुमन कोइरालाको ‘दले दाइ’ प्रस्तुतिको पात्रमध्येका एक थिए, प्रधानमन्त्री केपी ओली । ‘… हुँदैन म बाहिरका दलाली हायर गर्दिनँ । मेरो काम त विष्णु भाइ नै हेर्छ’ समेटिएको व्यंग्य ओलीले सुने सायदै हाँसो थाम्न सक्लान् । सामाजिक र राजनीतिक विषयलाई केन्द्रमा राखेर हँसाउने कोइराला ‘पन्चलाइन’ मा माहिर छन् ।
इटहरीबाट डेढ वर्षअघि काठमाडौँ छिरेका उनी टेलिफिल्ममा आबद्ध थिए । भन्छन्, “सिक्ने क्रममा छु । स्टेज चढ्दा दर्शक हाँसून् भन्ने हुन्छ । नयाँ–नयाँ अभ्यासका क्रममा कहिले राम्रो भइदिन्छ, कहिले बिग्रन्छ नै ।”
काठमाडौँ सपनाको सहर । सपनाको भारी बोकेर आउने कति सफल हुन्छन्, कति सपनाकै भारीमा थिचिन्छन् । सहर अवसरको खोजी पनि हो । मोरङका सुमन कार्की पनि हास्य कलाकारको सपना बोकेरै चार वर्षअघि मोरङबाट काठमाडौँ हिँडेका हुन् । अहिले कमेडी च्याम्पियनमा हँसाइरहेका सुमनलाई हास्यव्यंग्यबाटै जिन्दगीको उडान भर्नु छ । भन्छन्, “हास्यव्यंग्यमै लाग्छु भनेर समय खर्चेको छु । यसबाहेक विकल्प छैन, जति घोटिनुपर्छ, यसैमा कर्म गर्छु ।”
अहिले यी हास्य कलाकारलाई हरेक साता नयाँ–नयाँ अनि अब्बल प्रस्तुति कसरी दिने भन्ने चिन्ता हुन्छ । बाटो, बजार र यात्रामा कमेडीका ‘पन्चलाइन’ भेटिने गरेको कार्की सुनाउँछन् ।
हास्यव्यंग्यमा अरुलाई उडाउँदा दर्शक झन् खुसी हुन्छन्, हाँस्छन् भन्ने भ्रम पनि छ । तर दर्शकले खोज्ने यथार्थपरक हास्यव्यंग्य हो । कतिपय यस्ता कलाकार हुन्छन्, जो आफैँमाथि व्यंग्य गरेर दर्शकलाई हसाउँछन् । तीमध्येका हुन्, रोल्पाली युवक खड्गबहादुर पुन मगर । भन्छन्, “मेरो आफ्नै भोगाइ फन्नी छ । दर्शकले रुचाइदिनुभएको हो ।” दुई वर्षअघि काठमाडौँ पुगेका उनी हास्यव्यंग्यबाहेक नृत्य र कोरियोग्राफी गर्छन् । दोहोरीसाँझका जागिरे पनि ।
स्ट्यान्ड–अप कमेडी क्यारिकेचरभन्दा भन्दा जोखिमपूर्ण हुन्छ नै । मिश्रा भन्छन्, “क्यारिकेचरमा एउटा पात्र हुन्छ, पात्रका कुरा बोलेर निस्कन्छ । आफैँ भएर बोल्दा झन् जोखिम हुन्छ नै । दर्शक रिसाउने
पनि मसितै हो ।”
आ–आफ्नो ठाउँमा दर्शक, श्रोतालाई हँसाइरहेका यी हास्य कलाकारले प्लेटफर्म पाएका छन् । कमेडी च्याम्पियनबाट यिनीहरुको कला लाखौँ दर्शककहाँ पुगेको छ । यससँगै चुनौती पनि बढेको छ । कार्की भन्छन्, “अब प्रस्तुतिका लागि माग आउँछ तर त्यसको यही शैली र अब्बलता कायम गर्न सकिन्छ कि नाइँ भनेर डर हुन्छ नै ।”स्रोत:nepalmag.com

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*