प्रज्ञा हुमागाईं
हेटौडा /झट्ट हेर्दा चट्ट पारेर, मिलाएर लगाएको सर्ट र पाइन्ट, अनी घांटीमा आफ्नो परिचय पत्र पनि झुन्डाईएको। दुईजना युवक हेर्दा त्यस्तै पच्चीस्/सत्ताईस् बर्षका देखिने मोटरसाइकलमा थिए। पहिरन हेर्दा राम्रै पढेलेखेको अनी पक्कै कुनै राम्रै कम्पनीमा काम पनि गर्ने होलान् दुबैजनाले भन्ने सोचेँ।
कलेजको कामले साथीहरु संग बजारतिर निस्किएकी थिएँ। आँखा ठ्याक्कै त्यो मोटरसाइकलमा पुग्यो, उच्च गतिमा आइरहेको मोटरसाइकल अचानक झ्याप्प रोकियो। यसो हेरें, अगाडि एउटा बिरालोले बाटो काट्यो। सायद आफ्नो ज्यान मोटरहरूले नकिचोस् भनेर होला छिटोछिटो दौडँदै बाटो काटीरहेको थियो, बिरालो अनी हेरेँ ति दुई युवकको अनुहारमा। ‘ला…. बिरालोले पो बाटो काट्यो!’ भन्ने जस्तो हाउभाउ दिंदै एक अर्कालाई हेर्दै हाँसे उनीहरु। एकछिन टक्क रोकिए,अनी हेरे अगाडि-पछाडी। कुनै साधन नआएको देखेपछि बिरालोले काटेको ठाउँमा थु-थु गरेर थुक्दै आफ्नो बाटो लागे। हेर्दा त्यस्तो पढेलेखेको। एकदम राम्रो गरी अङ्ग्रेजी पढेर कुईरे हरु सँग अङ्ग्रेजी मै मज्जाले बोलेको के अर्थ यदि उसको दिमागको हरेक कुनाकाप्चा अन्धविश्वास ले भरिएको छ भने। के काम त्यो सर्टिफिकेटको, देशमा चलेको अन्धविश्वास हटाउने प्रयास उसले गर्दैन भने? एउटा बिरालोले एक ठाउँबाट अर्को ठाउँमा हिँड्ने कुरामा उसलाई यति ठुलो अन्धविश्वास लाग्छ भने, उसलाई अन्य कति कुरामा अन्धविश्वास लाग्छ होला? जनावरले चैं हिड्नै नपाउन्? बाटो काट्नै नपाउन्?