कुरा मात्रै ठूला भो मुख्यमन्त्रीज्यू,तपाइलाई थाहा छ ?श्रमिक माविको आइसुलेशनकक्षमा डाक्टर छैनन्

हेटौंडा टुडे
२५ चैत्र २०७६, मंगलवार १८:१८

 चैत २५,हेटौंडा/बागमती प्रदेशको राजधानी हेटौंडा । राजधानी हेटौंडामा बनाइएको आइसोलेशनको नेतृत्व गर्न एक जना डाक्टरसम्म छैनन् भन्दा तपाइ पत्याउनुहुन्न तर वास्तविकता यहि हो ।

ढोकै अगाडि प्रदेश सरकार छ, तर प्रदेश सरकारले एउटा गतिलो आइसोलेशन वार्डको निर्माणसम्म गर्न सकेको छैनन् । प्रदेश सरकारले आइसोलेशन बनाउन हेटौंडा अस्पताललाई जिम्मा दिएको छ ।

अस्पतालमा स्थान अभाव भएको भन्दै हेटौंडा उपमहानगरपालिका वडा नं. ४ कर्रामा रहेको श्रमिक माद्यमिक विद्यालयमा आइसोलेशन बनाइएको छ । दूभाग्र्य त्यो आइसोलेशन कक्षको नेतृत्वमा एक जना पनि डाक्टर खटाउन प्रदेश सरकारले सकेको छैन ।

कोरोना संक्रमण रोक्न सबै आवश्यक तयारी गर्नुपर्नेमा चरम लापरवाही भइरहेको छ । नागरिकहरुले यस्तो चरम लापरवाही भइरहेको विषयमा आवाज उठाइरहेका छन् । तर, त्यस्तो गुनासा सुन्ने र समाधानका लागि उचित निर्णय गर्ने काम कसैबाट भएको छैन ।

प्रदेश सरकारले जिल्ला अस्पताललाई आइसोलेशनको व्यवस्था गर्न जिम्मा दिएको छ । अस्पतालमा आइसोलेशन व्यवस्था हुन नसकेको भन्दै श्रमिक माद्यमिक विद्यालयमा आइसोलेशन बनाउने कार्य भयो, तर एक जना पनि डाक्टर त्यहाँ छैनन् ।

जनस्वास्थ्य निरीक्षक (सिनियर अहेब छैठौँ) भोला चौलागाईले आइसोलेशन कक्षको नेतृत्व गरिरहनु भएको छ । रातदिन नभनी उहाँले धान्नुभएको छ, स्वास्थ्य कार्यालय स्रोत भन्छ–डाक्टर कोही पठाइएको छैन के गर्ने ?

जिल्ला अस्पतालबाट डाक्टर साहेब कहिलेकाहिँ आउनुहुन्छ, नत्र उहाँ चौलागाई सरकै भर हो, एक स्वास्थ्यकर्मीले तु खबरसँग भन्नुभयो ।

प्रदेश सरकारले स्थानीय तहलाई आवश्यक अनुदान रकम हिजो मात्रै पठाएको छ । आइसोलेशन कक्ष, क्वारेन्टाइन कक्ष त्यसमा रहने जनशक्तिलगायतका विषयमा विभागीय मन्त्री र मुख्यमन्त्री जिम्मेवार बन्न नसकेको आरोप छ ।

झिनामसिना काममा मुख्यमन्त्री लागिरहेको तर गर्नै पर्नेकाम हुन नसकेको भन्दै प्रदेश सरकारको आलोचना गर्नेहरु छन् ।

जिल्ला समन्वय समितिका संयोजक रघुनाथ खुलालले अब आइसोलेशन हेटौंडा अस्पतालमा बनाउनुपर्ने बताउनुभएको छ । अहिले यसो देखाउन त ठिकैछ, साँच्चै समस्या पर्यो भने चाहिँ त्यसको केही अर्थ छैन त्यहि भएर यता अस्पतालमै बनाउन सम्बन्धित निकायलाई आग्रह गर्ने निर्णय भएको छ ।साभार:तुखबर डटकम

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image