बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी, लकडाउन लम्ब्याउने तयारी

टुडे संवाददाता
२ बैशाख २०७७, मंगलवार १३:१३

बैशाख ०२,काठमाडौं /कोरोनाका कारण चैत ११ बाट जारी लकडाउन बुधबार सकिँदैछ । तर कोरोना भाइरस संक्रमित भेटिने क्रम रोकिएको छैन । यो भाइरस फैलन नदिन सवैभन्दा उपयुक्त विकल्प भनेको लकडाउन (बन्दाबन्दी) नै भएकाले लब्याउनुको विकल्प नभएको निष्कर्षमा सरकार पुगेको छ ।

सोही निष्कर्षका आधारमा जारी मन्त्रिपरिषद् बैठकले थप निर्णय गर्ने सरकारका एक मन्त्रीले बताए । उनका अनुसार बैठकले कम्तिमा एकसाता थप्ने र लकडाउन थप कडा बनाउने तयारी छ ।‘क्रमश बैशाख अन्तिमसम्म पनि लकडाउन लम्ब्याउनुपर्ने हुनसक्छ । तर अहिले एक साताको मात्रै निर्णय हुन्छ’, ती  मन्त्रीले रातोपाटीसँग भने,‘ नेपालसँग सीमा जोडिएको भारतमा समेत वैशाख २१ सम्म लकडाउन थपिएकाले यहाँ पनि लम्ब्याउनुको विकल्प छैन । यसमा सवैको साथ र सहयोग चाहिन्छ ।’

देशभित्र कोरोना संक्रमितको संख्या थपिदै गएकाले परीक्षणको दायरा समेत अझ बढाउदै लैजानुपर्ने भएकोले लकडाउन लम्ब्याउन लागिएको उनको भनाइ छ ।

सोमबार मात्रै कैलाली र रौतहटमा थप एकएक जनामा कोरोना भाइरसको संक्रमित भेटिएका छन्। योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रिमितको संख्या १४ पुगेको छ।

सुदूरपश्चिम प्रदेशमा पाँच जना, गण्डकी पदेशमा २ जना, प्रदेश २ मा चार जना र काठमाडौंमा तीन जना उपचाररत छन्। एक जना भने उपचारपछि घर फर्किसकेका छन्। पछिल्लो समय काठमाडौको सनसिटी अपार्टमेन्टमा पनि थप तीनजनामा कोरोना संक्रमणको आशंकामाअस्पताल भर्ना गरिएको छ। एकैघरका उनीहरुको एन्टिबडीको नतिजा पोजेटिभ आएपछि थप परीक्षणका लागि स्वाब जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएपनि थ्रोट स्वाबको रिपोर्ट आइसकेको छैन ।

बालुवाटारर श्रोतका अनुसार लकडाउनले समस्यामा परेका नागरिकहरुको व्यवस्थापनका बारेमा समेत आजको मन्त्रिपरिषदमा छलफल हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*