जेठ २७ , हेटौंडा
नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले १ सय ६३ जना सदस्य(पत्रकार)को कोरोना र दुर्घटना बिमा गरेको छ। हेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा विमा गरिएको हो। उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईलाई जेठ २७ गते बिमा पोलेसीको पत्र हस्तान्तरण गर्नुभयो।
कोरोना भाइरस (कोभिड १९) को त्रासका विच पनि अग्रपंत्तिमा खटिएका पत्रकारको एक लाखको कोरोना विमा र दुई लाख रुपैयाँका दरले दुर्घटना विमा गरिएको हो ।
कोरोना विमा गर्न पत्रकार महासंघ मकवानपुर शाखालाई उपमहानगरपालिकाले एक लाख ५० हजार रुपैयाँ कार्यपालिकाको बैठकले निर्णय गरेर सहयोग गरेको थियो। दुई महिना अघि देखिको कोरोना त्रासका कारण सरकारले गरेको लकडाउनको समयमा पनि त्रास बेहोर्दै अग्रपंत्तिमा खटिएका पत्रकारको कोरोना र दुर्घटना विमा गरिएको नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईले बताउनुभयो। पत्रकार महासंघ मकवानपुरका सदस्य १ सय ३ जना र नयाँ सदस्यताका लागि सिफारिस गरिएका ६० जना पत्रकारको विमा गरिएको अध्यक्ष हुमागाईले जानकारी दिनुभयो। एक जना पत्रकारको तीन लाख रुपैयाँका दरले विमा गरिएको हो। विमा गरिएका पत्रकारको कोरोना भाइरस पुष्टी भएमा एक लाख रुपैयाँ, दुर्घटनामा घाइते भएमा २० हजार रुपैयाँसम्म उपचार खर्च र मृत्यु भएमा दुई लाख रुपैयाँ प्राप्त गर्ने बिमा कम्पनिले जनाएको छ।
हेटौंडाको एभ्रेष्ट ईन्स्योरेन्स कम्पनी लिमिटेडमार्फत् विमा गरिएको हो। कार्यक्रममा मेयर महतले पत्रकारका लागि संस्थागत रुपमा जुनसुकै सहयोग पनि गर्न तयार रहेको बताउनुभयो। कोरोना भाइरसको त्रासका विच पनि स्वास्थ्यकर्मी, सुरक्षाकर्मीसंगै सञ्चारकर्मी पनि निरन्तर अग्रपंत्तिमा खटिएकाले कोरोना र दुर्घटना विमा गर्नका लागि सहयोग गरिएको मेयर महतले बताउनुभयो।
अहिलेको समयमा मिडिया हाउस र पत्रकार पनि संकटमा परेको समयमा स्थानीय सरकारले सहयोग गरेको उहाँले वताउनुभयो। कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष प्रताप विष्ट, महासंघ मकवानपुरका सहसचिव धर्मेन्द्र दाहाल, कोषाध्यक्ष सुदीप शिवाकोटी लगायतको सहभागिता रहेको थियो।
यसअघि हेटौंडा उपमहानगरपालिकाले केही महिना अघि पत्रकार महासंघ मकवानपुरको पत्रकार उपचार कोषमा चार लाख रुपैयाँ सहयोग गरेको थियो। गतआर्थिक वर्षमा उपमहानगरपालिकाले महासंघको कार्यालयमा पुस्तकालय निर्माण गर्नका लागि पनि आर्थिक सहयोग गरेको थियो।
कोरोनाको त्रासका बिच पनि अग्रपंतिमा रहेका पत्रकारका लागि पत्रकार महासंघ मकवानपुर शाखाले स्वास्थ्य सुरक्षाका सामाग्री, संचार संस्थालाई प्रेस ज्याकेट, लकडाउनका कारण समस्यामा परेका पत्रकारका लागि खाद्यान्नका सामाग्री वितरण गर्दै आएको छ।