पूर्वमन्त्री बास्कोटाको घरमा बम पड्काउने मुख्य योजनाकार पक्राउ

टुडे संवाददाता
१७ असार २०७७, बुधबार २०:४४

असार १७,काठमाडौं/सूचना प्रविधि तथा संचार पूर्वमन्त्री गोकुल प्रसाद बास्कोटाको मध्यपुर थिमि नगरपालिका १, मनोहरा प्लानिङमा निर्माणाधीन घरमा बम विष्फोट गराउने मुख्य योजनाकारलाई प्रहरी पक्राउ गरेको छ।  घरको दक्षिणपूर्वी पर्खालमा गत फागुन २८ गते बिहान बम विष्फोट भएको थियो। सो घटनाको जिम्मेवारी नेत्र विक्रम चन्द विप्लव समूहले लिएको थियो।

प्रहरीले सो घटनाको मुख्य योजनाकार भएको आरोपमा विप्लव समूहका भक्तपुर जिल्ला सेक्रेटरी विजय शाही भन्ने ऐनबहादुर शाहीलाई पक्राउ गरेको हो। शाहीलाई विशेष सूचनाका आधारमा महानगरीय प्रहरी परिसर भक्तपुरको टोलीले काठमाडौंबाट पक्राउ गरिएको परिसरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दिपक गिरीले जानकारी दिए।  शाहीलाई भक्तपुर जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको गिरीले बताए।

सो घटनामा प्रहरीले यसअघि विप्लवका कार्यकताहरु अभिषेक भन्ने टेक बहादुर विक, अमृतबहादुर कुमाल, लक्ष्मण सेठी र देवी बहादुर गुरुङ समेत ४ जनालाई पक्राउ गरेको थियो।  पक्राउ परेकाहरु मध्ये देवीबहादुर गुरुङलाई भक्तपुर जिल्ला अदालतले गत चैत्र ३० गते साधारण तारेखमा रिहा गरेको गिरीले जानकारी दिए। पक्राउ परेका अन्य तीन जना भने पुर्पक्षका लागि डिल्लीबजार कारागार चलान गरिएको छ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image