श्रावण ४,हेटौंडा/मापदण्ड विपरित निर्माण कार्य भइरहेको श्री भानु माध्यामिक विद्यालयको निर्माणाधीन नयाँ भवनको काम यथास्थितिमा तत्काल रोक्न मकवानपुरका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले निर्देशन दिएका छन् ।
विद्यालयका अभिभावक तथा स्थानीयवासीहरुले निर्माण समिति र प्राविधिकको मिलेमतोमा जानीजानी मापदण्ड विपरित भवन निर्माण गरी आर्थिक लाभ लिने उद्धेश्यले काम गरेको भन्दै आवश्यक छानविन गरी दोषी उपर कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरमा उजुरी गरेपछि सीडीओ नेपालले गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाँईलाई निर्माणको काम रोक्न निर्देशन दिएका हुन् ।
भवन निर्माणको विषयमा अनुगमन गर्नुपर्ने देखिएकोले तत्काल निर्माणको काम रोक्न गाउँपालिका अध्यक्षमार्फत सम्बन्धीत निर्माण समितिलाई निर्देशन दिइएको सीडीओ नेपालले बताए ।
मकवानपुरगढी गाउँपालिका वडा नम्वर ३ मा रहेको सो विद्यालयमा बागमती प्रदेश सरकारले नमुना विकास कार्यक्रम अन्तरगत १२ कोठे नयाँ भवन बनाउनको लागि पहिलो चरणमा रु ५० लाख रुपैँया उपलब्ध गराएको थियो ।
विद्यालयले चन्द्रबहादुर योञ्जनको अध्यक्षतामा निर्माण समिति बनाएर भवनको काम गर्न जिम्मा दिएको भएपनि प्राविधिक विष्णु ढुंगाना र अध्यक्ष योञ्जनको मिलेमतोमा गम्भीर लापरबाहीसहित मापदण्ड विपरित भवन निर्माणको काम भइरहेको विषयमा तु खबरले तथ्य र तस्वीरसहित यसअघि लगातार समाचार प्रकाशन गरी निरन्तर फलोअप गरिरहेको छ ।
सो विषयमा अख्तियार दूरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयमा समेत उजुरी दर्ता भइसकेको छ ।
प्राविधिक र निर्माण समितिको मिलेमतामा गरिएको गम्भीर त्रुटि सच्याउनुको सट्टा ढाकछोप गर्दै कमजोरी लुकाउन विभिन्न उपाय अपनाइएको भएपनि सीडीओको निर्देशनसंगै अब अनुगमन नभई काम अगाडि नबढ्ने भएको छ ।
निर्माण समितिले कमजोरी लुकाउँदै रकम निकासीको लागि शिक्षा विकास निर्देशनालय बागमती प्रदेशमा समेत फाइल पेश गरिसकेको सूचना प्राप्त भएको छ ।
हेर्नुहोस् आज जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको उजुरी