विश्वकप छनोटका खेल २०२१ सम्मका लागि स्थगित

टुडे संवादाता
२८ श्रावण २०७७, बुधबार १२:४०

काठमाडौं/सन् २०२२ मा कतारमा हुने फिफा विश्वकप र सन् २०२३ मा चीनमा हुने एसियन कपको संयुक्त छनोट अन्तर्गत नेपालको बाँकी तीन खेल फेरी स्थगित भएका छन् ।

यसअघि कोरोना संक्रमणका कारण पूर्वनिर्धारित मतिमा खेल हुन नसकेपछि एएफसीले २ महिनाअघि अक्टोबर र नोभेम्बरमा खेल गर्न नयाँ मिति सार्वजनिक गरेको थियो । दशरथ रंगशालामा हुने भनिएको खेल अब कम्तिमा सन् २०२१ सम्मको लागि स्थगित भएको छ ।

एएफसीले छनोटमा सहभागी सबै सदस्य राष्ट्रलाई जुलाई ३१ सम्म अक्टोबरमा हुने खेलको विस्तृत विवरण माग गरेकोमा धेरै राष्ट्रले कोरोना भाइरस संक्रमणका कारण खेल आयोजना गर्न नसक्ने बताएपछि खेल स्थगित भएको हो । सहभागी राष्ट्रहरुले कोरोनाका कारण सरकारले अन्तर्राष्ट्रिय आवागमनमा लगाएको प्रतिबन्धका कारण तयारी हुन नसकेको जनाएका छन् ।

यस्तै खेल गर्न आवागमन सहज भएपनि स्वास्थ्यको दृष्टिकोणले हाल खेल गर्न सहज नहुने निर्क्यौल एएफसीको रहेको छ । एन्फाले भने खेलाडीलाई पीसीआर परिक्षण गराएर बन्द प्रशिक्षण गराउने तयारी गरेको थियो । दशरथ रगंशालाको काम पनि नियमित हुँदै आएको थियो ।

छनोट अन्तर्गत समूह सी मा रहेको नेपालले आफ्नो अन्तिम तीन खेल खेल्न बाँकी रहेको छ । नेपालले बाँकी तीनै खेल आफ्नो घरेलु मैदान दशरथ रंगशालामा खेल्ने कार्यक्रम रहेको छ । सुरुवात पांच खेलमा नेपालले १ जित र ४ हारसहित ३ अंक जोडेको छ । पाँच राष्ट्र सम्मिलित समूहमा नेपाल चौथो स्थानमा छ ।

नेपालले पछिल्लो पटक घरेलु मैदान तयार नहुँदा कुवेतसँगको खेल भुटानको चाङलिमिथाङ मैदानमा खेलेको थियो । उक्त खेलमा नेपाल १-० ले पराजित भएको थियो । त्यसअघि खेलेका ४ अवे खेलमध्ये नेपालले चाइनिज ताइपेइको मैदानमा २-० को जित हासिल गरेको थियो । उक्त जितमा दुवै गोल अन्जन विष्टले गरेका थिए ।

नेपालले पहिलो खेलमा कुवेतको मैदानमा ७-० को हार बेहोरेको थियो । दोस्रो खेलमा जित दर्ता गरेपछि अष्ट्रेलिया पुगेको नेपाली टोलीले त्यहाँ ५-० को हार बेहोरेको थियो । चौथो खेलमा नेपाल जोर्डनको मैदानमा ३-० ले पराजित भएको थियो । अब नेपालले घरेलु मैदानमा चाइनिज ताइपेइ, अष्ट्रेलिया र जोर्डनसँग खेल्ने कार्यक्रम रहेको छ ।

पाँच राष्ट्र सम्मिलित समूहको शीर्ष स्थानमा रहने टोलीले एसियन कपमा छनोट हुनुका साथै विश्वकप छनोटको तेस्रो चरणमा सहभागी हुन पाउनेछ । दोस्रो हुने उत्कृष्ट चार टोली पनि विश्वकपको तेस्रो चरणका साथै एसियन कपमा अगाडी बढ्नेछन् भने तेस्रो स्थानसम्मका टोली एसियाली कपको छनोटको तेस्रो चरणमा छनोट हुनेछन् । समूहको उत्कृष्ट ४ चौथो हुने टोली एसियाली कप छनोटको तेस्रो चरणमा पुग्दा बाँकी टोलीले उक्त छनोटमा पुग्न प्लेअफ खेल्नुपर्नेछ ।

हालसम्मको नतिजा हेर्दा नेपाल एसियन कप छनोटका लागि प्लेअफ खेल्नुपर्ने स्थितिमा छ । नेपालले बाँकी तीन खेलमा भने सुखद नतिजा हासिल गर्ने अपेक्षा गरिएको छ । नेपालले महाभूकम्पका कारण रंगशाला बिग्रीएपछि अन्तर्राष्ट्रिय मान्यताप्राप्त फिफाको खेल खेलेको छैन ।

नेपाल रहेको समूह ‘बी’मा अष्ट्रेलिया ४ खेलमा १२ अंकसहित शीर्ष स्थानमा छ । दोस्रो स्थानको कुवेत र तेस्रो स्थानको जोर्डनको समान १०-१० अंक रहेको छ । नेपाल ३ अंकसहित चौथो स्थान तथा अंकविहिन चाइनिज ताइपेइ अंकविहिन रहेको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image