हेटौंडा । बागमती प्रदेश प्रमुख प्रतिपक्षी दलका नेता एवं नेपाली कांग्रेस मकवानपुर सभापति ईन्द्रबहादुर बानियाँले हेटौंडा-६ स्थित गौरीटार आइसोलेसनको बेथिति सुधार्न मूख्यमन्त्रीलाई ध्यानाकर्षण गराएका छन् । शुक्रबार भएको टेलिफोन वार्तामा नेता बानियाँले प्रदेशको गौरवको रूपमा लिइएको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले व्यवस्थापन गरेको आइसोलेसनमा सेवा लिइरहेकाहरूले समस्या भोगेको गुनासो आउनु दुःखद भएको भन्दै सुधार गर्न मूख्यमन्त्री पौडेललाई ध्यानाकर्षण गराएका हुन् ।
बानियाँले प्रदेश कोरोना कोषमा पर्याप्त रकम रहेको भन्दै यसको समुचित परिचालन गरि आइसोलेसनमा सेवा लिइरहेकाहरूलाई गुणस्तरीय खाना, तातो पिउने पानी, शौचालयको उचित व्यवस्थापन र सहज बसाईको व्यवस्था गर्न जोड दिए । उनले आइसोलेसनका लागि आवश्यक सम्पूर्ण पुर्वाधारको व्यवस्था गर्नुपर्ने बताए । आइसोलेसनमा सेवा लिइरहेकाहरूको पीडा नेपाली कांग्रेस हेरेर बस्न नसक्ने भन्दै तरूण दलले केही सहयोग गरिसकेको र थप आवश्यकता परे कांग्रेस सिंगो पार्टी र भातृ एवं शुभेच्छुक संगठन सहयोगमा खटिने उनको भनाइ थियो ।
जवाफमा मूख्यमन्त्री पौडेल आइसोलेसन संचालनको शुरूवातमा केही समस्या परेको बताउँदै अहिले समाधान गरेको बताएका थिए । उनले दैनिक देखिने समस्या समाधानका लागि पनि काम भइरहेको बताए । मूख्यमन्त्री पौडेलले सबैको सल्लाह र सुझाव अनुसार आइसोलेसनलाई थप व्यवस्थित गर्ने प्रतिवद्धता समेत व्यक्त गरेको बानियाँले जानकारी दिए ।
गौरीटार आइसोलेसनको बेथिति सुधार्न बानियाँद्वारा मूख्यमन्त्रीलाई ध्यानाकर्षण
सेयर गर्नुहोस्