हेटौंडा /के म सुरक्षित छु ? हरेक छोरीले घर बाहिर निस्कँदा होस या घरकै चार भित्ताको घेरामा बस्दा, सोच्नै पर्ने प्रश्न हो यो , यहाँ को विश्वास गर्न योग्य छ र को छैन, जवाफ पाउन सहजै सकिँदैन । कुन बेला कसले मानवता बिर्सिएर दानवताको नियत भिर्छ ठम्याउन सकिदैँन ।
सामाजिक संजाल पल्टाउँदा होस या टिभी खोलेर समाचार हेर्दा या त साथीभाइसँग कुराकानी गर्दा, बलात्कार, एसिड प्रहार, कुटपिट, हत्या जस्ता मुटु नै चिसो बनाउने खबर सुनेर आँत नै काँप्न थाल्छ । आज जसको खबरले हामी यति त्रसित छौँ, त्यो दिन भोलि आँफु वा आफ्नाले भोग्न नपर्ला भनेर प्रत्याभूति दिन, हामी समर्थ छौँ र ?
हाम्रो देशको कानुन त थाहै छ, नुन खाएको कुखुराभन्दा पनि लाटो अनि “कानुन अन्धो हुन्छ”,भनिन्छ नि, है? यहाँको कानुन त चश्मा लगाएर पैसा र पदको पुच्छर लाग्दै हिँड्दै छ । आफ्नो जिन्दगी उजाड भएको वेदना त छँदै छ, कति छोरीचेली यस्ता पनि छन् जसले न्याय माग्दा सहानुभूति र सान्त्वना भन्दा अरू केहि पाउँदैनन् । अझ त्यति मात्रै नभएर त्यहि पिडित छोरीचेलीलाई नै अनेक आक्षेप लगाएर यातना दिन, हाम्रो समाज पनि कहिल्यै चुक्दैन । के अपेक्षा राख्नु यो देशको कानुनसँग, जहाँ देशको स्थितिकोभन्दा पार्टी र कुर्सिको चासो राख्नेको घुइँचो लागेको छ । अब अरू केही गर्न नसके पनि, कानुनसम्म कुरा पुग्नु पुर्व नै सजगता अपनाउनु बाहेक अरू बिकल्प छ, र ?
घर अनि विद्यालय, यहाँ जे सिकाइन्छ हामी त्यही सिक्छौँ । तर यि दुवै ठाउँमा यस्ता संवेदनशील विषयहरु बारे, किन केही पनि बोध गराउनु आवश्यक ठानिदैन ? आफ्नो बालबच्चाको कुरा सुनिदिनु र उनीहरूको मनोभाव बुझ्न खोज्नु अभिभावकको र किताबी ज्ञानको साथै व्यवहारिक ज्ञान पनि दिनु विद्यालयको दायित्व होइन र ? कोही पनि कोखबाटै अपराधी त पक्कै जन्मेको हुँदैन । कुनै अपराधको तरिका र नतिजा सबै नियाँले पनि त्यसको कारण के हुन सक्ला भनेर आकलन गर्ने फुर्सद सायद कसैको पनि छैन । यसमा थोरै दोष हामी आफैँको पनि छ । आफ्नो छोराछोरीलाई एकोहोरो पढाई र पाठमा राम्रो बनाउने सुरमा हामी जीवनोपयोगी ज्ञान उनीहरूलाई दिनै भ्याउदैनौँ । त्यस्तै, विद्यालयमा पनि काँध नै थिच्ने किताबको झोलाको चाप सहेर पनि, मस्तिष्क फराकिलो बनाउने स(साना व्यवहारिक कुराहरूले कतैपनि स्थान नै पाउँदैन । कतै हामीले सिकाउने तरिका नै गलत छ कि ? त्यो अबोध दिमागले कुनै जिज्ञासा प्रकाश गर्दा, हामी उसको उत्तर दिनै झर्को मान्छौँ। यदि यौन सम्बन्धि कुनै कुरा छ भने त झन् झपारेर, पिटेर या हप्काएर टार्न खोज्छौँ । किन ? किनभने हामीलाई त्यो विषयमा छलफल गर्न नै असहज महसुस हुन्छ । तर त्यो कुराको जिज्ञासा मेटाउन उनीहरूले गलत बाटो रोज्न सक्छन भनेर हामी चिन्तन समेत गर्दैनौँ । उमेर आएपछि आफैँ बुझ्छन भन्ने अभिभावकहरूले, यो किन सोच्नु हुन्न कि उमेर आउँदासम्म, सायद उनीहरूले यस्ता कुरा देख्न र भोग्न सक्लान जुन कुरा न के हो भनेर बुझ्न सक्छन, न त त्यसलाई गलत भनेर प्रतिकार गर्ने चेष्टा गर्न सक्छन्। त्यसो त, आफ्ना छोराछोरीसँग अस्लिल शब्द प्रयोग गर्दा पनि फरक पर्दैन या उनीहरूको सबै कुरालाई साधारण रूपमा लिनुपर्छ भन्न मैले कत्ति पनि खोजेको होइन । उनीहरूको सोचाइमा ठेस नपर्ने गरी, यस्ता कुराहरु पनि सभ्य पारामा उनीहरूलाई सम्झाउनुपर्छ । कठिन त अवश्य हुन्छ तर हामीले नै यस्ता कुरालाई सामान्य रूपमा लिन सक्दैनौँ भने आफ्नो छोराछोरीलाई यस्तो केहि समस्या पर्दा उनीहरूले सहजै कथन गर्नुपर्छ भनेर दाबी गर्नु मुर्खता मात्रै हो ।
चाहे घरमा होस या विद्यालयमा, कस्तो छुवाई उचित र कस्तो छुवाई अनुचित भन्ने कुरा सिकाउन अत्यन्तै आवश्यक छ । आफ्नो शरीरको कुन(कुन अङ्गहरुमा अरूले छुँदा प्रतिकार गर्नुपर्छ, त्यस्तो अवस्थामा कस्तो प्रतिक्रिया दिनुपर्छ र यस्ता कुरा कसलाई थाहा दिनुपर्छ भनेर, सकेसम्म सानै उमेरदेखि नै सम्झाउन सके उनीहरू आफुलाई सुरक्षित राख्न सक्छन्। किशोरावस्थामा रहेका छोराछोरी छन् भने जस्तोसुकै विषयमा जिज्ञासा राखे पनि त्यसलाई सभ्य भाषामा बुझाउने, सम्झाउने र गलत मनोभावनालाई कसरी नियन्त्रण गर्न सकिन्छ भनेर सहि परामर्श दिने व्यक्ति चाहिन्छ। यस्तो अवस्थामा देखिने शारिरीक तथा मानसिक परिवर्तनका कारण र प्रभाव बारे पनि प्रष्ट्याउन सक्नुपर्छ । र सबै कुरा बुझेर पनि यातना सहेर बस्नु भएकाहरू हुनुहुन्छ भने, यति भन्न चाहन्छु कि, आफ्नो निसाफका लागि तपाईं आफैँ आवाज उठाउनु हुँदैन भने त्यहाँ हजारौंको आवाज पनि लाटो हुन्छ । तपाईंको जीवनमा तपाईंको मात्र अधिकार छ, त्यसलाई थिचोमिचो पार्ने हक अरु कसैले पाउँदैन ।
यस्ता संवेदनशील बिषयहरु सिक्न र सिकाउन, बुझ्न र बुझाउन, कहिल्यै पछि नपरौँ। थोरै सचेत हामी आँफै भयौँ भने, सायद कयौँ अपराध जन्मिन नपाउँदै पतन भएर जान्छन्। ।