कवि तीर्थ श्रेष्ठको एकल कविता वाचन शनिबार हेटौँडामा सम्पन्न

हेटौंडा टुडे
१३ भाद्र २०७७, शनिबार १८:३८

हेटौंडा ।  कवि तीर्थ श्रेष्ठको एकल कविता वाचन शनिबार हेटौँडामा सम्पन्न भएको छ । साहित्य सङ्गम मकवानपुरको २९८ औँ साहित्य सन्ध्याका अवसरमा कवि श्रेष्ठको एकल कविता वाचन कार्यक्रम आयोजना गरिएको हो ।

तीर्थ श्रेष्ठको ‘धर्सैधर्साको चक्रव्यूह’ कविता सङ्ग्रह मदन पुरस्कार २०७६ का लागि उत्कृष्ट सातभित्र मनोनयनमा समेत परेको छ । कार्यक्रममा कवि श्रेष्ठले ‘हिउँमा लेखिएका नामहरु’, ‘तानसेन’, ‘पागलहरु चुपचाप छन्’ लगायत १५ ओटा कविताहरु वाचन गरेका थिए ।

वरिष्ठ कवि तथा संस्कृतिविद् तुलसी दिवसको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति विष्णुविभु घिमिरेले श्रेष्ठका व्यक्तित्व र उनका कवितामाथि चर्चा गरेका थिए ।

साहित्य सङ्गम मकवानपुरका अध्यक्ष निमेष निखिलको अध्यक्षता रहेको कार्यक्रममा दिनेश अधिकारी, सरुभक्त, असीम सागर गुप्तबहादुर श्रेष्ठ, देवराज तिवारी, सुवास खनाल, गीता त्रिपाठी, गौरी तमु, देवकी तिमल्सिना लगायतको उपस्थिति रहेको थियो । भर्चुअल माध्यमबाट सञ्चालित कार्यक्रममा स्थानीय तथा राष्ट्रिय स्तरका करिब ६० जना साहित्यकारहरुको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*