हेटौंडा/नेपाली कांग्रेसका बागमती प्रदेश संसदीय दलका नेता एवम् मकवानपुर सभापति इन्द्रबहादुर बानियाँले कोरोना महामारीमा सरकारको गैरजिम्मेवारपनका कारण समस्या झनै बढ्दै गएको आरोप लगाएका छन् । नेपाली कांग्रेस कोभिड १९ अनुगमन तथा सूचना समिति मकवानपुरले शुक्रबार आयोजना गरेको छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता बानियाँले बर्तमान सरकार कोभिडको १९ को नाम बेचेर भ्रष्टाचार उन्मुख भएको बताए ।
महामारीका कारण रोजीरोटी गुमाएका विपन्न परिवारलाई सरकारले बेवास्ता गरेको उनको भनाइ थियो । ‘गरिबलाई न काम न खाना छ । यस्तो संकटको बेला उनीहरुले कसरी दशैं मनाउलान् ? उनीहरुलाई थोरै भए पनि सरकारले राहत दिनुपथ्र्यो ।’ बानियाँले भने । सपना मात्रै बाँड्ने कम्युनिष्टसँग जनताले विश्वास गर्न छाडेको भन्दै उनले अब व्यापक रुपमा काँग्रेसको पक्षमा जनलहर सुरु भएको पनि बताए । विकास र समृद्धि नारामा मात्रै सीमित भएको भन्दै कम्युनिष्ट सत्तामा हुँदा गरेका काम र काँग्रेस सरकारमा हुँदा गरेको कामको बारे जनताले समीक्षा गर्नेबेला आएको पनि बानियाँले बताए ।
समितिका मकवानपुर संयोजक उत्सब इटेनीको सभाध्यक्षतामा भएको कार्यक्रममा पार्टी उपसभापति विष्णुप्रसाद लामिछाने, पार्टी प्रवक्ता प्रदिप कोइराला, हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुली, महिला संघ मकवानपुरकी अध्यक्ष लक्ष्मी श्रेष्ठलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
यसैगरी उत्सव इटेनी संयोजक रहेको समितिका सदस्यहरुको नामावली समेत कार्यक्रममा बीच सार्वजनिक गरिएको थियो । समितिमा रामकृष्ण कोइराला, जानुका गिरी, संजय श्रेष्ठ, सुनिल गिरी, मणिराज गौतम, सुजन विडारी, डोल्मा स्याङ्बो, मदन जोशी सदस्य रहेका छन् । यस्तै उक्त छलफल तथा अन्तरकृया कार्यक्रमको अवसरमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ का ४ जना महिला र वडा नम्बर १ का एकजना नेपाली कांग्रेस प्रवेश गरेका छन् । नव प्रवेशीलाई कार्यक्रमका प्रमुख अतिथि नेता इन्द्रबहादुर बानियाँले सदस्यता प्रदान गर्दैं पार्टीमा स्वागत गरेका थिए ।
कोरोना महामारीमा सरकार जिम्मेवार बनेनः नेता बानियाँ
सेयर गर्नुहोस्