यस बर्षको भाइटीकाको उत्तम साइत मंसिर १ गते बिहान ११ः३७ बजे

टुडे संवादाता
२४ कार्तिक २०७७, सोमबार १२:२०

 हेटौंडा/नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ः३७ बजे रहेको जनाएको छ । मङ्सिर १ गते मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि मकर लग्न, वृष नवमांश, अभिजित् मुहूर्तको शुभसाइत दिइएको हो ।
राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने र सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउन कुनै समस्या नरहेको समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले जानकारी दिए ।
यस वर्ष यमपञ्चक कात्तिक २७ गतेदेखि सुरु हुन्छ । त्यस दिनदेखि यमदीप दान सुरु गरिन्छ। कात्तिक २८ गते  काग तिहार परेको छ। यसैगरी धनवन्तरी जयन्ती, धन त्रयोदशी र धनतेरस पर्व पनि यसै दिन परेको छ ।
कात्तिक २९ गते  बिहान नरक स्नानसहित कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा परेको छ। अपराह्न १ः४९ बजेसम्म कार्तिक कृष्ण चतुर्दशी र त्यसपछि औँसी तिथि लाग्ने भएकाले शास्त्रसम्मत रुपमा पर्वसम्बन्धी निर्णय गरिएको समितिले जनाएको छ ।
सायंकालमा औँशी तिथि परेका दिन लक्ष्मीपूजा गर्नुपर्ने शास्त्रीय वचन छ। औँसी तिथिमा गरिने स्नान, दान भने कात्तिक ३० गते बिहान गर्नुपर्नेछ । गाई, गोरु र आत्म (म्ह)पूजा भने कात्तिक ३० गते गर्नुपर्ने शास्त्रीय वचन रहेको छ ।
आइतबार बिहान ११ः२७ बजेसम्म औँसी तिथि छ । त्यसपछि कार्तिक शुक्ल प्रतिपदा प्रारम्भ हुने भएकाले म्हपूजा यसै दिन गर्नुपर्ने हुन्छ ।  म्हपूजा विशेषगरी नेवार समुदायले गर्ने परम्परा छ ।
सिद्धिलक्ष्मी व्यञ्जनकार, कीर्तिकिरण जोशी र शशिधर जोशी नेवार समुदायकै पञ्चाङ्गकारले पनि कात्तिक ३० गते नै म्हपूजा गर्ने विषय आफ्ना पञ्चाङ्ग (पात्रो) मा उल्लेख गरेका छन् ।  भाइटीकाकै दिन यस वर्ष नेपाल संवत्अनुसार नयाँ वर्ष मनाउनुपर्ने पनि समितिले जनाएको छ ।
प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय वचनअनुसार यस्तो निर्णय गरिएको अध्यक्ष गौतमले बताए । यसै दिनदेखि नेपाल संवत् ११४१ सुरु हुन्छ ।
शास्त्रीय विधिअनुसार भाइपूजा वा किजापूजा पनि मङ्सिर १ गते नै मनाइन्छ । मङ्सिर २ गते बिहान ७ः०४ बजेसम्म मात्र द्वितीया तिथि छ । शास्त्रीय वचनअनुसार मध्याह्नकालमा नै भाइटीका लगाइन्छ । यसैले मङ्सिर १ गते नै भाइटीका मनाउन शास्त्रसम्मत हुने समितिको ठहर छ ।
नेवार समुदायका केही समूहले भने मङ्सिर २ गते भाइटीका लगाउने समाचार सार्वजनिक गरेका थिए । मङ्सिर महिनामा भाइटीका परेकाले दाइलाई टीका लगाउनुहुन्न भनी केही मानिसले चर्चा गरे पनि त्यो शास्त्रसम्मत नरहको समितिले जनाएको छ ।
शास्त्रीय ग्रन्थमा भ्रातृपूजा भन्ने शब्द उल्लेख गरिएको र त्यस शब्दले दाजुभाइ दुवैलाई बुझाउने अध्यक्ष गौतमको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*