हेटौंडा/मकवानपुर जिल्लाकै क्षेत्रिय अस्पताल हेटौंडा अस्पतालमा आजबाट थप सेवा दिन सुरु गरेको छ । अस्पतालमा सघन उपचार कक्ष आइसियु तथा उच्च उपचार कक्ष एचडियु सञ्चालनमा ल्याइएको हो । आइसीयुका ७ वेड र एचडीयुका १० वेड आजबाट सञ्चालनमा ल्याइएको हो । अस्पतालमा आजबाटै ४ वटा भेन्टीलेटर पनि सञ्चालनमा ल्याइएको छ ।
आइसीयु अभाबका कारण हेटौंडाका निजी अस्पताल र भरतपुर रिफर हुँदै आएका विरामी अब भने हेटौंडा अस्पतालमानै उपचार हुने भएको हो । दुबै कक्षको उद्घाटन् गर्दै बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले ८ वर्ष अघि आइसियु कक्ष सञ्चालन गर्ने सपना बल्ल पुरा भएको बताउनुभयो ।
मुख्यमन्त्री पौडेलले आइसियु कक्ष एचडियु कक्ष संचालनमा आएपछि स्वास्थ्य सेवामा फड्को मार्नेकुरा आफु निश्चित भएको बताउनुभयो । हिजोको दिनमा सामान्य बिरामी रिफर गरिनुपरथ्यो अस्पतालको चौतर्फी आलोचना हुन्थ्यो,अब त्यो कामको अन्त्य भएको छ। अब हेटौँडा अस्पताल देशकै उत्कृष्ट अस्पताल बन्छ–मुख्यमन्त्री पौडेलले भन्न्ुभयो ।
एक जना मात्र डाक्टरले सञ्चालन गरेको इतिहात सम्झदै मुख्यमन्त्री पौडेलले अब हेटौंडा अस्पतालमा स्वास्थ्य सेवा उच्च रहने बताउनु भयो । रिफर गर्ने र बदनामको रुपमा रहेको अस्पताल विभिन्न सेवा प्रदान पश्चात देशकै चर्चित अस्पतालको रुपमा चिनाउने बताउनुभयो ।
कार्यक्रममा मदन भण्डारी स्वास्थ्य प्रतिष्ठानका रजिष्ट्रार राजेश प्रसाईले आइसियु सञ्चालन पश्चात अब निकट भविष्यमा काइडोलोजी र प्याथोलोजी सेवा गरिने बताउनुभयो । मदन भण्डारी स्वास्थ्य प्रतिष्ठानका निर्देशक डाक्टर हरि खड्काले आर्थिक अवस्था कमजोर भएका हरुको लागि आइसियु कोष स्थापना गरि सेवा दिने बताउनुभयो । प्रतिदिन प्रतिवेड एचडियुको १५ सय लाग्ने, भेन्टीलेटर सहितको आइसियु ४ हजार र विना भेन्टिरलेटरको आइसियु २ हजार प्रतिदिन लाग्ने अस्पताल स्रोतले जनाएको छ ।
कार्यक्रममा जिसस प्रमुख रघुनाथ खुलाल, अस्पतालका प्रमुख डाक्टर प्रविण श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रममा प्रदेश सभा सदस्य मुनु सिग्देल, कुमारी मोक्तान, ओम बहादुर ग्लान, सामाजिक विकास मन्त्रालयका सचिव दीपक काफ्ले, मदन भण्डारी स्वास्थ्य प्रतिष्ठानका उपकुलपति प्राध्यापक डाक्टरविश्वराज जोशी लगायत स्वास्थ्यकर्मीहरुको उपस्थिती रहेको थियो । कार्यक्रम अस्पताल विकास समितिका अध्यक्ष प्रकाश पौडेलको अध्यक्षतामा भएको थियो ।