हेटौंडा ११ र १२ लाई जोड्ने पुलको आज शिलान्यास

टुडे संवादाता
१८ मंसिर २०७७, बिहीबार १३:०७

हेटौंडा/बागमती प्रदेश सरकारको लगानीमा निर्माण हुने सबैभन्दा ठूलो पुलको आज शिलान्यास भएको छ ।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ र १२ लाई जोड्न राप्ती खोलामा निर्माण हुन लागेको २ सय १५ मिटर लामो पुलको प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आज शिलान्यास गर्नुभएको हो ।

शिलान्यासका क्रममा मुख्यमन्त्री पौडेलले प्रदेश राजधानी समेत रहेको हेटौंडा शहरलाई विस्तारित गर्न पुलले भूमिका खेल्ने बताउनुभयो । मुख्यमन्त्री पौडेलले सरकारले बाटो, घाटो र पुलसँगै प्रदेशको समग्र विकासमा फड्को मारेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयालले वर्तमान सरकार विकासमैत्रि रहेको उल्लेखगर्दै गाउँगाउँमा विकासका पूर्वाधार निर्माण गर्नमा जुटेको बताउनुभयो ।

हेटौंडा १२ का वडाअध्यक्ष ललित घलानले पुल निर्माणको योजना ल्याएर विकट क्षेत्रको रूपमा रहेको पदमपोखरी क्षेत्रलाई दोस्रो हेटौंडाको रूपमा परिणत गर्न प्रदेश सरकार र मुख्यमन्त्री पौडेलले भूमिका खेल्नुभएको उल्लेख गर्नुभयो । हेटौंडा ११ का वडाअध्यक्ष गोकर्ण पराजुलीले पुलको निर्माणपछि हेटौंडाको मध्यबजार क्षेत्रको सवारी चापलाई कमगर्ण सहयोग पुग्ने बताउनुभयो ।

कूल रकम रु २६ करोड ४१ लाख ८७ हजार २०० मा निर्माण सम्पन्न हुने सम्झौता भएको पुल साविकको हेटौंडा ११ र साविकको पदमपोखरी गाविसलाई जोड्ने छ । पुल २१५ मिटर लामो र ११ मिटर चौडाइ भएको हुने जनाइएको छ । ४ वटा स्पान हुने पुलको गाडी हिड्ने भाग ७।५ मिटर तथा फुटपाथ १।५ मिटरको हुनेछ ।

पुलसँगै दायाँबायाँ ३ सय ५०, ३ सय ५० मिटरगरी ७ सय मिटरको सडक निर्माण हुनेछ भने दुबैतिरगरी ७ सय मिटर लामो तटबन्ध निर्माण हुने छ । प्रदेश सरकारको , भौतिक पूर्वाधार निर्देशनालयमार्फत निर्माण हुने पुल काठमाण्डौंको एलिट कन्स्ट्रक्सन प्रालिले निर्माणको ठेक्का पाएको निर्देशनालयका प्रमुख डा। सहदेवबहादुर भण्डारीले जानकारी दिनुभयो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*