मौसममा खराबी आएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हवाई उडान ठप्प

टुडे संवादाता
२८ पुष २०७७, मंगलवार १२:३०

काठमाडौं/मौसममा आएको खराबीले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिर जाने कुनै पनि उडान संचालनमा आउन सकेका छैनन् ।

काठमाडौं उपत्यकामा मौसम सफा भए पनि देशका विभिन्न जिल्लाहरुमा अहिले बाक्लो हुस्सु लागेको छ । जसले गर्दा काठमाडौंबाट विराटनगर, जनकपुर, सिमरा, भरतपुर, पोखरा, धनगढी लगायत अन्य अन्तर्राष्ट्रिय उडानहरु पनि रोकिएका छन् । उडान रोकिएका कारण विहानैदेखि यात्रुहरु विमानस्थलमै अलपत्र परेका छन् ।

स्थानीय वायुको प्रभावले आगामी तीन दिन देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली हुने भएको छ । आगामी बिहीबारसम्म प्रदेश नं १ ,२, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षासमेतको सम्भावना छ ।

देशभर सोमबारसम्म मौसम सफा भई राम्रोसँग घाम लागेकाले अपराह्न अधिकतम तापक्रम वृद्धि भई गर्मी महसुस भएको थियो । अब स्थानीय वायुको प्रभावले अपराह्न अधिकतम तापक्रम कम भई चिसो अनुभव हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । तत्कालै ठूलो पानी पर्ने सम्भावना भने नरहेको मौसमविद् प्रतिभा मानन्धरले बताइन् ।

पानी पार्ने उल्लेखनीय मौसमी प्रणाली देशभर नै नरहेको विभागले जनाएको छ । काठमाडौँ उपत्यकाको सोमबारको अधिकतम तापक्रम २३ दशमलव ७ डिग्री रहेकामा आज २१ दशमलव ८ डिग्री सेल्सियस छ ।

हाल देशको पहाडी भूभागमा आंशिक बदली छ । प्रदेश नं १, २, वाग्मती र गण्डकी प्रदेशमा अपराह्न आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षाको समेत सम्भावनाका साथै तराईका भूभागमा बाक्लो हुस्सु कुहिरोको सम्भावना रहेको बताइएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ३ दशमलव ९ डिग्री छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ३ दशमलव ६ डिग्री र सबैभन्दा धेरै सिमराको न्यूनतम तापक्रम १३ दशमलव ६ डिग्री सेल्सियस छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*