काठमाडौँ /प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँगको सम्बन्धमा कुनै खास ठूलो समस्या नरहेको र भएका केही उल्झनहरु वर्ष २०२१ मा पूर्ण रुपमा सुल्झिने बताएका छन्।
भारतीय टेलिभिजनलाई दिएको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले चीनसँगको सम्बन्धमा कुनै समस्या नरहेको र भारतसँग पनि खासै समस्या भन्नु पर्ने अवस्था पनि नआएको दाबी गरेका हुन्।
वर्ल्ड इज वन टेलिभिजनकी कार्यकारी सम्पादक पल्की शर्मा उपाध्यायलाई दिएको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले भनेका छन्, ‘चीनसँग समस्या छैन, मलाई लाग्छ भारतसँग पनि छैन । तर सीमाको विषयमा केही कुरा छ । यो वर्ष नेपाल–भारत सम्बन्ध महत्वपूर्ण र बलियो बन्ने छ।’
लिपुलेक–कालापानी नेपालको रहेको र त्यो ऐतिहासिक दस्तावेजले स्पष्ट पार्ने बताउँदै प्रधानमन्त्री ओलीले त्यसकारण उत्पन्न समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट निस्कने बताए।
यस्तै उनले काठमाडौँ स्थित भारतीय दूतावास नभई केही भारतीय तत्व वा पक्षहरु आफूविरुद्ध लागेको र आफूलाई सत्ताबाट हटाउने खेलमा सामेल भएको बताएको दाबी गरेका छन्।
यसैगरि अयोध्याबारे आफूले गरेको टिप्पणी राजनीतिक नभई ऐतिहासिक खोजको विषय रहेको उल्लेख गरेका छन्।
यसैगरि जी न्यूजका सुधिर चौधरीलाई दिएको अन्तर्वार्तामा भारतले जम्मू–कश्मीर तथा लद्दाखको विषयमा जारी गरेको नयाँ नक्सामा नेपालको भाग लिपुलेक–लिम्पियाधुरा, कालापानी समेटेकाले समस्या उत्पन्न भएको बताएका छन्।
सुधिर चौधरीलाई उनले भनेका छन्, ‘भारतले नेपाली भूभाग समेटर नक्सा जारी गर्यो । हामीले कूटनीतिक नोट पठायौँ, वार्ताको प्रस्ताव गर्यौँ । भारतले त्यसको कुनै सकारात्मक जवाफ दिएन । उल्टै बाटो उद्घाटन गर्यो । समस्या त्यसकारण भएका हो।’
‘हाम्रो जमिन र आकाश कसैलाई प्रयोग गर्न दिँदैनौँ’ भनेका ओलीले समस्याको समाधान वार्ताबाट हुने र त्यसका लागि काम भइरहेको उल्लेख गरेका छन्।
नेपालको आन्तरिक राजनीतिबारे पाल्की शर्मा उपाध्यायसँगको अन्तर्वार्तामा ओलीले नेकपा फुटेको घोषणा आफूले अझैसम्म नगरेको र अझै पनि आफ्नो पार्टीको दोस्रो अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड रहेको बताए।
तर प्रचण्डको अस्थिर चरित्रका कारण समस्या उत्पन्न भएको आरोप भने लगाएका छन् । उनले भने, ‘मैले उहाँ (प्रचण्ड) हिंसात्मक राजनीतिबाट प्रजातान्त्रिक बाटोमा ल्याएँ। उहाँको अस्थिर चरित्रका कारण समस्या उत्पन्न हुने जान्दा जान्दै उहाँलाई सँगै लिएर अघि बढेँ । तर अहिले उहाँहरु नै यस्तो गर्नु भएको छ ।’
सुधिर चौधरीसँगको अन्तर्वार्तामा आउँदो चुनावपछि पनि आफू नै प्रधानमन्त्री बन्ने दाबी गरेका ओलीले पल्की शर्मासँग नेकपा एक भएर चुनावमा जाने सम्भावना नकार्न नसकिने तर त्यो सबै प्रचण्ड पक्षमा निर्भर गर्ने बताएका छन्।
अन्तर्वार्ताकै सुरुमा पल्कीले सोधेको सम्बोधन सम्बन्धी प्रश्नको जवाफमा आफू कार्यबहाक नभई पूर्ण क्षमताको कार्यकारी प्रधानमन्त्री रहेको बताएका थिए।
सुधिर चौधरीले भारतीय प्रधानमन्त्रीलाई ‘ठूलो’ मान्न किन नसक्ने आसयको प्रश्न गर्दा ओलीले, ‘उहाँ उमेरमा म भन्दा केही जेठो हुनु होला तर दुई देशको प्रधानमन्त्रीका रुपमा हामी समान हैसियतका हौँ।’
जी न्यूजले केही महिना पहिले चीनसँग भारतको सम्बन्ध तनाव पूर्ण बनेका बेला तथा नेपालमा चिनियाँ राजदूतको गतिविधि सक्रिय भएको समयमा ओली र चिनियाँ राजदूत होउ याङ्छीलाई जोडेर कूटनीतिक मर्यादा विपरितको खबर प्रशारण गरेको थियो ।