हेटौंडा/बागमती प्रदेशको प्रदेशसभा बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको छ । ६ महिनापछि शुरु भएको सातौं अधिवेशन बुधबार पहिलो बैठक बसेर स्थगित भएको हो । बैठकमा सभामुख सानुकुमार श्रेष्ठले अर्को सूचना नभएसम्मका लागि स्थगित भएको जानकारी गराउँनुभएको थियो । यसअघि सातौं अधिवेशन सफलताको शुभकामना व्यक्त गर्दै मूख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले चुनौतिका बीच विकास र समृद्धिको काम गरेको दावी गर्नुभयो । सरकार ढलाउने खेल शुरुदेखि नै भएपनि संविधानका कारण रोकिएको बताउँदै उहाँले बामगती प्रदेश सरकारमा एकै स्वरमा बोल्नेहरु पनि अहिले फरक ढंगले प्रस्तुत हुनुपर्ने बताउँनुभयो । उहाँले सिमित स्रोतधान र ऐनकानूनको अभाव चुनौतिका बाबजुद प्रदेश सरकारले काम गरेको दावी गर्नुभयो ।
बागमती प्रदेशका प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता इन्द्रबहादुर बानियाँले वर्तमान प्रधानमन्त्री केपि शर्मा ओलीले संघीय लोकतान्त्रिक गणतन्त्र कमजोर बनाउने खेल शुरु गरेको बताउँनुभएको छ । यस्तै बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता इन्द्रबहादुर बानियाँले अधिवेशन सफलताको शुभकामना व्यक्त गर्दै जनताले स्थिर सरकारका लागि भोट दिएको भएपनि नेकपाले अस्थिरता पैदा गराउने काम गरेको आरोप लगाउँनुभयो । उहाँले नेकपाले जनताको मतलाई अपमान गरेको आरोप समेत लगाउँनुभयो । नेता बानियाँले नेपाली कांग्रेस व्यवस्था जोगाउने पक्षमा रहेको स्पष्ट पार्दै संविधान र लोकतन्त्रको रक्षाका लागी तिक्तताका बिचपनि नेकपालाई मिल्न आग्रह गर्नुभयो ।
यस्तै बागमती प्रदेशसभा सदस्य अष्टलक्ष्मी शाक्यले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमनकारी कदमको विरोधमा सडकमा रहेको बताउँनुभयो । उहाँले समृद्धि र विकासका लागि जनताले नेकपालाई विश्वास गरेको भएपनि केपि शर्मा ओली प्रतिगमनकारी भएको आरोप लगाउँनुभयो ।
बैठकमा विवेकशिलका सांसद रमेश पौडेल, नेमकिपाका सांसद सुरेन्द्र गोसाई, राप्रपाकी सांसद रिता माझी, रिना माझीले अहिलेको सरकारको कामले जनतामा वितृष्णा पैदा भएको बताएका थिए । प्रदेशसभामा मूख्यमन्त्री डोरमणी पौडेलविरुद्ध परेको अविश्वासको प्रस्तावमाथि निर्णय गर्नका लागि कार्यविधि समिति गठन भएको छ ।