सुवासको ‘सपनाका अवयव’ बारे हेटौँडामा अन्तर्क्रिया

हेटौंडा टुडे
१० माघ २०७७, शनिबार १०:०९

हेटौंडा । साहित्य सङ्गम मकवानपुरको आयोजनामा कवि सुवास खनालको दोस्रो कविताकृति ‘सपनाका अवयव’ माथि अन्तर्क्रिया कार्यक्रम न्युजक्लबको सभाहल हेटौँडामा सम्पन्न भएको छ ।

कविता लेखनमा निरन्तर क्रियाशील खनालको यसअघि २०७१ सालमा ‘विचारको उल्टो नदी’ नामक कविता कृति प्रकाशित छ । उनको दोस्रो कृति सपनाका अवयव शाब्दिक बुक्सले बजारमा ल्याएको हो । कृतिबारे बोल्दै समीक्षक घनश्याम घिमिरेले खनालको लेखन समयसचेत र प्रभावपूर्ण रहेको बताए । उनी झिना विषयको उठान गरेपनि गम्भीर भाव पैदा गर्ने शैलीको लेखक रहेको उनको धारणा रह्यो । कार्यक्रममा बोल्दै प्रलेस मकवानपुरकी अध्यक्ष शान्ति प्रियवन्दनाले कविको लेखनको भाषा सरल र गम्भीर रहेको बताइन् ।

साहित्यकार तुल्सी थापाको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा एस के निधन र दीपक गौतमले पनि कृतिबारे धारणा राखेका थिए । सङ्गम सचिव डी.बी. बर्तौलाले सहजीकरण गरेको सो कार्यक्रममा कृतिकारले आफ्नो धारणा राख्दै लेखन यात्रामा दोस्रो कृतिसम्म आइपुग्दा कविता लेखन गम्भीर र चुनौतीपूर्ण रहेको विचार व्यक्त गरे ।

सङ्गम कोषाध्यक्ष सानूबाबू खनालले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रमको सभाध्यक्षता साहित्य सङ्गम मकवानपुरका अध्यक्ष निमेष निखिलले गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*