झरनाको बकैया साहित्य महोत्सव फागुनमा

हेटौंडा टुडे
२१ माघ २०७७, बुधबार ०६:५५

हेटौंडा । झरना साहित्यिक परिवारले यसवर्ष पनि बकैया साहित्य महोत्सव गर्ने भएको छ । गतवर्षबाट सुरु गरेको महोत्सवलाई निरन्तरता दिन लागिएको संस्थाका अध्यक्ष दीपक गौतमले जानकारी दिए । आज हेटौंडामा पत्रकार सम्मेलन गर्ने झरनाले महोत्सवमा स्रष्टासँगै विभिन्न क्षेत्रमा योगदान पुर्याएकाहरुलाई सम्मान गर्ने जनाएको छ ।

बकैया गाउँपालिका–५ श्रीपुरमा रहेको प्रभात माविमा २०७७ फागुन १४ र १५ गते महोत्सवको आयोजना गर्न लागिएको अध्यक्ष गौतमले बताए । महोत्सवमा पहिलो दिन फागुन १४ गते शुक्रबार नवसर्जक (बालबालिका विशेष) रचना वाचन, पुरस्कार वितरण एवम् बहसमूलक कार्यक्रम रहेको छ । दोस्रो दिन फागुन १५ गते शनिबार स्रष्टा सम्मान, स्थानीय सांस्कृतिक नृत्य, जग्गा दाताहरूलाई सम्मानसँगै साहित्यिक रचना वाचन तथा गायन कार्यक्रम रहेको गौतमले जानकारी दिए ।

झरनाले विगतदेखि नै विभिन्न सम्मान तथा पुरस्कार प्रदान गर्दै आएको छ । सोही क्रमको निरन्तरता स्वरूप यसवर्षको महोत्सवमा पनि साहित्यकार, पत्रकारलाई सम्मान गर्ने कार्यक्रम रहेको संस्थाका सचिव मसान उपासकले बताए । उनका अनुसार यसवर्ष होमनाथ–टीकामाया प्रतिभा सम्मान–२०७७ सुनसरीका अग्रज साहित्यकार प्रा.डा. भीम खतिवडालाई प्रदान गरिने छ । १५ हजार ५ सय ५५ रुपैयाँ नगद राशी रहेको पुरस्कारका संस्थापक नुरप्रसाद गौतम हुन् ।

यस्तै, बाबुलाल–भोजमाया प्रतिभा सम्मान–२०७७ मकवानपुरे अग्रज कवि आरआर चौलागाईँ प्रदान गरिने भएको छ । ११ हजार १ सय ११ रुपैयाँ राशीको यस पुरस्कारका संस्थापक विनोद सुवेदी रहेका छन् । शिव–सावित्री अधिकारी स्मृति मुक्तक सम्मान– २०७७ अग्रज मुक्तककार ज्ञानुवाकर पौडेललाई प्रदान गरिने सचिव उपासकले जानकारी दिए । काठमाडौँ निवासी पौडेललाई प्रदान गर्न लागिएको ११ हजार १ सय ११ राशीको पुरस्कारका संस्थापक रमेशमोहन अधिकारी हुन् ।

यसैगरी, खडानन्द–मनमाया स्मृति प्रतिभा सम्मान–२०७७ नुवाकोटकी युवा साहित्यकार सुमित्रा सुमीलाई प्रदान गरिने छ । अर्पण र दर्पण पराजुलीले स्थापना गरेको उक्त पुरस्कारको राशी ५ हजार ५ सय ५५ रुपैया रहेको छ । सुशीला दङ्गाल स्मृति सिर्जनशील नारी सम्मान–२०७७ मकवानपुरे साहित्यकार रुकु कार्की प्रदान गरिने भएको छ । राजन दङ्गालले स्थापना गरेको उक्त पुरस्कारको राशी पनि ५ हजार ५ सय ५५ रुपैया रहेको छ ।

यस्तै, सञ्जीवनी बुटी साहित्य सेवा सम्मान–२०७७ मकवापुर बकैयाका मनहरी लामिछानेलाई प्रदान गरिने सचिव उपासकले बताए । ५ हजार ५ सय ५५ रुपैया राशीको उक्त पुरस्कारका संस्थापक तुलसी गिरी हुन् ।
झरना–बकैया पत्रकारिता पुरस्कार–२०७७ बाट रौतहटका खेम बोलखेलाई प्रदान गरिनेछ । पुरस्कार संस्थापक रहेको बकैया गाउँपालिका रहेको उक्त पुरस्कारको राशी ५ हजार ५ सय ५५ रुपैया रहेको छ । यसैगरी, झरना–बकैया नवप्रतिभा पुरस्कार–२०७७ बाट कबैयाका दीपशिखा घिमिरेलाई प्रदान गरिने छ । पुरस्कार संस्थापक चन्द्रकुमार राई रहेको उक्त पुरस्कारको राशी २ हजार ५ सय ५ रुपैया रहेको झरनाले जनाएको छ ।

झरना २०५० सालमा साविक छतिवन गाविस (हाल बकैया गाउँपालिका) मा स्थापित भई हालसम्म क्रियाशील मकवानपुरको अग्रणी साहित्यिक संस्था मध्येको एक हो । यसले मासिक साहित्य शृङ्खला सञ्चालन, ‘झरना’ नामक अर्धवार्षिक पत्रिका प्रकाशन, प्रकाशन कोषमार्फत् साहित्यिक कृतिहरू प्रकाशन लगायत विविध साहित्यको क्षेत्रमा विविध गतिविधिहरू गरिरहेको छ ।

स्थापना कालदेखि नै साहित्यिक कार्यक्रमहरू गर्ने र विद्यालय तहमा अध्ययनरत विद्यार्थीहरूलाई साहित्यमा लाग्न प्रेरित गर्ने अभियानहरू सञ्चालन गर्दै आएको छ । अहिले ूसिर्जनशील नयाँ पुस्ता निर्माण अभियानू अन्तर्गत पछिल्ला ६ वर्षमा झरनाले ५० भन्दा बढी विद्यालयरकलेजहहरूमा पुगेर १ दिने काव्य प्रशिक्षण सञ्चालन गर्दै बाल साहित्य समितिहरू गठन गरिसकेको छ र नवसर्जकहरूमा लेखन र पठन संस्कृतिको विकासमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको छ ।

यसैबीचमा झरना साहित्यिक परिवार मकवानपुरले बकैया–५ मा आफ्नै भवन तथा पुस्कालय सञ्चालन प्रयोजनार्थ २ कठ्ठा जग्गासमेत गाउँपालिका कार्यालयबाट प्राप्त गरेको छ । स्थापनाकालदेखि नै स्थापना दिवस (फागुन १२) को आसपासमा वार्षिकोत्सव भव्यतापूर्वक् सम्पन्न गर्दै आएकोमा अघिल्लो वर्षदेखि वार्षिक कार्यक्रमको रूपमा ‘बकैया साहित्य महोत्सव’ को आयोजना गर्ने क्रमको सुरुवात गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*