
हेटौंडा । उत्तरी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । गाउँपालिकाको आयोजना यहि फाल्गुन २० गते गाउँपालिका स्तरीय खेलकुद मैदान, कुलेखानी हेभीमा प्रतियोगिता सुरु भएको हो । ३ दिन सम्म सञ्चालन हुने प्रतियोगितामा गाउँपालिका भित्रका ६ वटा माद्यामिक विद्यालयका छात्र छात्राहरु बिच प्रतिस्पर्धा हुने जनाएको छ ।
आज पहिलो दिन मार्चपास, छात्र भलिबल तर्फको ४ खेल र छात्र छात्रा १ सय मिटर दौड प्रतियोगिता सञ्चालन भएको छ । आज भएको छात्र भलिबल प्रतियोगितामा समूह ए मा पञ्चकन्या र कालीदेवी बिच पञ्चकन्या विजयी र बत्सलादेवी र कालीदेवी बिच भएको खेलमा बत्सलादेवी बिजयी भएका छन् भने समूह बि तर्फ सरस्वती बाल बोधनी र कालिका बिच भएको खेलमा कालिका विजयी र महाचुनी र कालिका बिच भएको खेलमा कालिका विजयी भएका छन् ।
यस्तै आज सञ्चालन भएको १ सय मिटर छात्र दौडमा समूह ए मा बत्सलादेवी प्रथम, कालिदेवी द्वितीय र पञ्चकन्या तृतीय भएको छ भने समूह बि मा महाचुनी प्रथम, कालिका द्वितीय र सरस्वती तृतीय भएका छन् । यस्तै १ सय मिटर छात्रा दौडको समूह ए मा बत्सल्ला प्रथम, पञ्चकन्या द्वितीय र कालिदेवी तृतीय भएका छन् भने समूह बि मा सरस्वती प्रथम, कालिका द्वितीय र महाचुनी तृतीय भएका छन् । छात्रा तर्फको २ भलिबल खेल र २ सय मिटर छात्रछात्रा दौडको खेल भने भोलि हुने आयोजकले जनाएको छ ।
इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष जीवन लामाको सभाध्यक्षतामा भएको प्रतियोगिताको उद्घाटन समारोहमा गाउँपालिकाका उपाध्यक्ष उमा कुमारी लामा, वडा नं २ का अध्यक्ष राजुमान महर्जन, वडा नं ३ का अध्यक्ष चिरञ्जीवी पौडेल, प्रमुख प्रशासकीय अधिकृत किरण निधि तिवारी लगायत विभिन्न सहभागी विद्यालयका शिक्षकहरुको आतिथ्यता र गाउँपालिकाका कर्मचारी तथा प्रतिस्पर्धी विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

