
हेटौँडा/हेटौँडामा भएको तेस्रो संस्करणको स्थानीय तह सहिद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिता-२०७७ को उपाधी नेपाल आर्मीको पोल्टोमा परेको छ ।
शनिबार फेरेष्ट्रीको खेल मैदानमा भएको फाइनल खेलमा घरेलु टोली मकवानपुर-११ लाई खेलको ३९ औं मिनेटमा आर्मीका टेक बहादुर बुढाथोकीले गोल हानी उपाधि हात पार्न सफल भएको हो ।
बुढाथोकीले गरेका गोलनै खेलमा निर्णायक रहयो । मकवानपुर-११ लाई १- ० गोल अन्तरले पाखा लगाउदै आर्मीले उपाधि आफ्नो पोल्टोमा पारेको हो ।
आयोजक टिम मकवानपुर–११ का कप्तान अशोक बराल खेल अवधिभरमै सर्वोउत्कृष्ट खेलाडी घोषित भएका छन् भने मकवानपुर(११ का अमिर श्रेष्ठले रोयल इन्फिल्ड बुलेट बाईक प्राप्त गरेका छन् ।
खेलमा आर्मीका टेक बहादुर बुढाथोकी म्यान अफ दी म्याच घोषित भए । उनले नगद १० हजार रुपैँया प्राप्त गरेका छन् ।
त्यस्तै लाइफटाइम एचिवमेन्ट अवार्डबाट पुर्व खेलाडी निर्मल बल लामालाई प्रदान गरिएको छ ।
आर्मीका विवश चौधरी खेलको उत्कृष्ट गोलरक्षक घोषित भए । चौधरीले नगद २५ हजार रुपैँया प्राप्त गरे । आर्मीका दीपक गुरुङ उत्कृष्ट डिफेन्डर ,आर्मीकै शेशेहङ आङदाम्बे उत्कृष्ट मिडफिल्डर, मकवानपुर(११ का रञ्जन बिष्ट उत्कृष्ट फरवार्ड,आर्मीका प्रशिक्षक नविन न्यौपाने उत्कृष्ट प्रशिक्षक घोषित भए ।उत्कृष्ट हुने सबैले जनही नगद २५र२५ हजार रुपैँया प्राप्त गरे ।
प्रतियोगिताको विजेता नेपाल आर्मीले नगद १० लाख रुपैँया सहित रनिङ शिल र उपविजेता मकवानपुर-११ले नगद ५ लाख रुपैँया रनिङ शिल प्राप्त गरेको छ। मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा भएको प्रतियोगितामा दश टोलीको सहभागिता रहेको थियो । कार्यक्रममा विजेता उप-विजेतालाई एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा,नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले पुरस्कार प्रदान गरेका थिए।

