कविता : छोरालाई अर्ति

टुडे संवादाता
१० चैत्र २०७७, मंगलवार १२:५४

 

मिन प्रसाद लामिछाने

तिमी बेईमान र ढोगी हौ ।
तिमी घर पोलेर खरानी घस्ने जोगी हौ ।
तिमी दुईजिब्रे साँप हौ ।
तिमी राष्ट्रका लागि अभिशाप हौ ।
तिमी काम नलाग्ने माटो कमेरो हौ ।
तिमी दहिचिउरे चमेरो हौ ।
तिमी अत्याचारी हौ ।
तिमी व्यभिचारी हौ ।
तिमी धुन्धुकारी पनि हौ ।
तिमी अवसरवादी हौ ।
तिमी हैकमवादी हौ ।
तिमी जाली शोषक हौ ।
तिमी भष्मासुरका पोषक हौ ।
तिमी दलाल हौ ।
तिमी खानका काल हौ।
तिमी लुच्चो छौ ।
तिमी छुच्चो छौ ।
तिमी बेगुनी हौ।
तिमी शकुनी हौ ।
तिमी खुनी पनि हौ ।
तिमी चोरका खन्ती हौ ।

तिमी दुशासनका जन्ति हौ ।
तिमी लुटेरा सामन्ति हौ ।

भनेर कसैलाई पनि भन्नू हुदैन् छोरा,

भोली तिनै मान्छे सांसद र मन्त्री बन्न सक्दछन् ।

 

 

————-गजल ———————

यहाँ बेलगाम घोडाहरुको कहर देखेको छु ।
मैले पत्थरका मान्छेहरुको शहर देखेको छु ।

तिमी हिंसक जनावर सँग डराउने कुरा गर्छौ ।
मैले मान्छे भित्र पनि प्रशस्तै जहर देखेको छु

बुद्धि र विवेकको बत्ति निभ्न लागेको छ ,अचेल
मैले त जताततै निशाचरहरुको ठहर देखेको छु ।

मलाई यो समय सँग डर छैन र गुनासो पनि ,
किनकी मैले यिनीहरु हिंडने डहर देखेको छु ।

निराशा र कुण्ठाका भारिहरु बोकेर मैले
टाडा क्षितिजमा कतै आशाको लहर देखेको छु ।

धन्यवाद 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*