विषालु च्याउ खाएर एकै परिवारका ६ जना बिरामी

हेटौंडा टुडे
१९ जेष्ठ २०७८, बुधबार २२:५७

हेटौंडा। मकवानपुरको राक्सिराङ गाउँपालिका–९ खैराङ, डन्टारमा विषालु च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी परेका छन् । त्यसमध्ये साढे २ वर्षीय बालक प्रेमबहादुर प्रजा गम्भीर बिरामी भई गाउँपालिकाले एम्बुलेन्स पठाएर उपचारको लागि भरतपुर लगिएको गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले जानकारी दिए ।
स्थानीय हरिशरण प्रजाको परिवारले जंगलबाट ल्याएको च्याउ पकाएर गए राति खाएका थिए । च्याउ खाएपछि बान्ता आउने लगायतका समस्या भएपछि डन्टारस्थित स्वास्थ्य चौकीमा सामान्य उपचार गरिएको थियो । हरिशरणकी श्रीमती सहित अन्य छोराछोरीको अवस्था सामान्य भएता पनि साढे २ वर्षीय छोरा प्रेमबहादुरको अवस्था भने गम्भीर भएपछि उपचारको लागि भरतपुर पठाइएको गाउँपालिका अध्यक्ष मल्लले बताए ।
विषालु च्याउ खाएर राक्सिराङ गाउँपालिका–७ बेशीटोलका ५२ वर्षीया कान्छीमाया प्रजाको मृत्यु भएको थियो । चतुरमान प्रजा र उनकी नातिनी १२ वर्षीया सञ्जिता प्रजा बिरामी भएका थिए । चतुरमानको अवस्था सामान्य भएता पनि सञ्जिताको भने भरतपुरमै उपचार भइरहेको गाउँपालिका अध्यक्ष मल्लले बताए ।
राक्सिराङमा च्याउ खाएर बर्सेनि धेरैले ज्यान गुमाउने गरेका छन् । गत वर्ष पनि विषाक्त च्याउ खाएर २ जना स्थानीयले ज्यान गुमाएका थिए । विशालु च्याउ खाएर मृत्यु हुनुको पछाडि अनिकालको समस्या प्रमुख रहेको गाउँपालिका अध्यक्ष मल्ल बताउँछन् । ‘गाउँमा वर्षभरलाई पुग्ने अन्न उत्पादन हुँदैन । जेठदेखि करिब ३ महिना त धेरैको घरमा अनिकाल लाग्छ । यहि बेला जंगलमा गिट्ठा भ्याकुर खोज्न जाँदा च्याउ पट्याउ सबै ल्याएर खाँदा स्थानीयको मृत्यु हुने गरेको छ ।’ गाउँपालिका अध्यक्ष मल्लले भने–‘विशालु च्याउ खाएर मर्ने समस्या हाम्रो लागि ठूलो चुनौती भएको छ । गाउँबासीलाई जंगली च्याउन नखान विभिन्न माध्यमबाट सूचना पनि जारी गरेका छांै । तै पनि सचेतना पुगेको छैन ।’

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image