हेटौंडा/मकवानपुरमा आज (आइतबार) बाट भौतिक उपस्थितिमा शैक्षिक संस्थाहरु खुल्ने भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र मकवानपुरले जिल्लाका स्थानीय तहको स्वीकृतिमा शिक्षण संस्थाहरुले विद्यार्थीको भौतिक उपस्थितिमा पठनपाठन सुचारु गर्नसक्ने निर्णय गरेपछि विद्यालय सञ्चालन गर्न लागिएको हो ।
अतिरिक्त कक्षा सञ्चालन गरिरहेका संघसंस्थालगायत विद्यालय, र क्याम्पसहरु आजबाट भौतिक उपस्थितिमा खुल्ने भएको हो ।
जिल्लाको अन्य स्थानीय तहको तुलनामा जोखिम बढी रहेको हेटौंडा उपमहानगरपालिकामा पनि आजबाट विद्यार्थीको भौतिक उपस्थितिमा शैक्षिक संस्था खुल्ने भएको हो ।
हेटौंडा उपमहानगरपालिकाभित्र ७७ वटा सामुदायिक र ४६ वटा निजी विद्यालय रहेका छन् । जसमध्ये विद्यालयहरुलाई उपमहानगरपालिकाको शिक्षा विकास महाशाखाले विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा पेश गर्न निर्देशन दिएकोमा करिब ७५ प्रतिशत विद्यालयले मात्र कार्यढाँचा पेश गरेको हेटौंडा उपमहानगरपालिकाका शिक्षा अधिकृत रामचन्द्र खड्काले जानकारी दिए ।
जिल्लाका १० वटा स्थानीय तहमध्ये गत आइतबारदेखि बागमती गाउँपालिका, थाहा नगरपालिका, भीमफेदी गाउँपालिका र मकवानपुरगढी गाउँपालिकाका विद्यालयहरुमा भने भौतिक उपस्थितिमै पढाइ सुरु भइसकेको छ ।
कोभिड–१९ को संक्रमणको रोकथामका लागि बन्द गरिएका तथा क्वारेन्टिन वा आइसोलेशन सेन्टरको रुपमा प्रयोग भएका विद्यालयहरुको सञ्चालनका प्रक्रियागत विषयमा प्रष्ट मार्गनिर्देशित गर्ने उद्देश्यले कार्यढाँचा पेश गर्न पालिकाहरुले अनुरोध गरेका थिए ।
मकवानपुरमा ४ सय ९९ विद्यालय रहे पनि उपमहानगर भित्रकै पनि २५ प्रतिशत विद्यालयले कार्यढाँचा पेश नगरेको हेटौंडा उपमहानगरपालिकाका शिक्षा अधिकृत खड्काले बताए ।