साहित्य संगम मकवानपुरमा न्यौपानेको नेतृत्व

हेटौंडा टुडे
१० आश्विन २०७८, आईतवार १५:२५

हेटौँडा/ मकवानपुरको अग्रणी साहित्य संस्था साहित्य संगम मकवानपुरमा पहिलो पटक महिला नेतृत्व निर्वाचित भएको छ । संगमको शनिबार भएको १५ औ अधिवेशनले अध्यक्षमा साहित्यकार अनिता न्यौपानेलाई चयन गरेको छ । न्यौपाने यसअघि सदस्य, कोषाध्यक्ष तथा उपाध्यक्षमा दुई कार्यकाल काम गरिसकेको अनुभवलाई उपयोग गर्दै समितिका सदस्य तथा मकवानपुरे सबै साहित्यकारसँग छलफल र सहमतिमा योजनावद्ध रुपमा काम गर्ने उनले प्रतिवद्धता जनाएकी छिन् । उनले संगममा रहेर मकवानपुरे साहित्यको विकाससँगै भौतिक विकासलाई पनि जोड दिने बताइन् । संगमको नेतृत्व तहमा पुग्ने न्यौपाने नै पहिलो महिला साहित्यकार भएकी छिन् ।

यसैगरी अधिवेशनले उपाध्यक्षमा सानु खनाल, सचिवमा डिबी बर्तौला, सहसचिवमा यमनदेव उत्प्रेरक, कोषाध्यक्षमा मनोज पोखरेल निर्वाचित भएका छन् । संगमको कार्यसमिति सदस्यमा मेनुका तिमल्सिना, कुवेर पराजुली, गंगा सापकोटा र सुनिल गौतमलाई निर्वाचित गरेको छ । समितिको अन्य पदमा सर्वसहमत भएपनि सचिवमा भने निर्वाचन भएको थियो । सचिवमा डिबी बर्तौला र रमेश बञ्जारको उम्मेदवारी परेपछि मतदान प्रक्रियाबाट बर्तौला विजयी भएका हुन् ।

संगमका अध्यक्ष निमेष निखिलको अध्यक्षमा अधिवेशन भएको अधिवेशनको प्रमुख अतिथि साहित्यकार तुल्सी थापा रहेका थिए । अधिवेशनको बन्दसत्रले कोषाध्यक्ष सानु खनाल र सचिव डिबी बर्तौलाको प्रतिवेदन पास गरेको छ । यस्तै अधिवेशनले संगमको विधानको विभिन्न बुँदालाई परिमार्जन तथा थप गरेको छ । कार्यक्रममा मकवानपुरका विभिन्न साहित्यक संस्थाका प्रमुख तथा साहित्यकारको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image