फिफाले गरेको कारवाहीको आधारमा सम्झौता रद्ध गर्न नमिल्नेः थापा

हेटौंडा टुडे
१८ आश्विन २०७८, सोमबार ११:१७

हेटौँडा/ अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वअध्यक्ष गणेश थापाले फुटबल एकेडेमी निर्माणको लागि हेटौंडा उपमहानगरपालिकासँग भएको सम्झौता रद्ध भएकोमा आश्चर्य प्रकट गरेका छन् । थापाले आइतबार हेटौंडामा पत्रकार सम्मेलनको अयोजना गरेर फुटबलको विकासमा इमान्दार भएर लाग्दा फिफाले गरेको कारवाहीकै आधारमा सम्झौता रद्ध गर्न नमिल्ने बताए ।

उनले आफ्नो नेतृत्वमा संचालन गर्न लागिएको फुटबल एकेडेमी मकवानपुरको हितमा रहेको बताउँदै एकेडेमीले जिल्लामा खेलाडी उत्पादन गर्ने बताए । उनले अझै पनि यो काम स्थानीय सरकारसँग सम्झौता गरेर अगाडि बढ्न सकिनेमा आफु विस्वस्थ रहेको बताए । मकवानपुरमा मात्रै नभएर देशका विभिन्न स्थानमा फुटबल एकेडेमी संचालन गर्ने योजना बनाइरहेको समयमा गृह जिल्लामै सम्झौता रद्ध हुँदा दुःख लागेको थापाको भनाइ छ ।

हेटौंडा उपमहानगरपालिकासँग सम्झौता गरिसक्दा पनि एकेडेमी कहाँ, कसरी सञ्चालन गर्ने भन्ने योजना भने नभएको बताए । सम्झौता रद्ध हुँदा आफू ठूलो पीडामा परेको बताउँदै आफू अन्यायमा परेको थापाले पत्रकार सम्मेलनामा बताए । एन्फाका पूर्वअध्यक्ष थापा र हेटौंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईले गत असोज १३ गते एकेडेमी निर्माणको लागि सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

तर, थापासँग एकेडेमी निर्माणको लागि सम्झौता भएको भोलिपल्टै अर्थात असोज १४ गते हेटौंडा उपमहानगरपालिकाले एक विज्ञप्ति जारी गर्दै सम्झौतारद्ध गरेको जानकारी गराएको थियो । प्रशासकीय अधिकृत चौलागाईं र थापाबीच एकेडेमी संचालनका लागि २५ लाख रुपैयाँको सम्झौता भएको थियो । थापाले यस विषयबारे विस्तृतमा पत्रकार सम्मेलन गरेर जानकारी गराउने बताएपनि उपमहानगरपालिकाले सम्झौता गरेको भोलिपल्टै सम्झौता रद्ध गरेको हो ।

हेटौंडा उपमहानगरपालिकाका प्रमुख हरिबोल महतले थापा प्रतिबन्धि भएको कुरा थाहा नपाएका कारण एकेडेमी संचालनको लागि सम्झौता भएको र त्यस विषयमा थाहापाए लगत्तै सम्झौता रद्ध गरेको बताए । उनले भने, ‘हामीले खेलाडी उत्पादन गर्ने भनेका कारण बजेट विनियोजन गरेका थियौं । तर, उहाँ प्रतिबन्धित हुनुहुन्छ भन्ने थाह थिएन । हामीले सम्झौता रद्ध गरिसकेका छौं ।’ एन्फा अध्यक्ष हुँदा आर्थिक अनियमितता आरोपमा दोषी ठहर गर्दै विश्व फुटबल महासंघ (फिफा) ले २०७२ कात्तिक ३० गते थापामाथि १० वर्षको प्रतिबन्ध लगाएको थियो । थापा प्रतिबन्ध फुकुवा हुन अझै ४ वर्ष बाँकी छ । प्रतिबन्ध फुकुवा नहुँदै थापाले एकेडेमी निर्माणको लागि हेटौंडा उपमहनगरपालिकासँग सम्झौता गरेका थिए । तु खबरबाट

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image