
हेटौँडा/ आयोजक हटिया स्पोर्टस् एकेडेमी र थाहा नगरपालिकाको विनयबाबु स्मृति खेलकुद प्रतिष्ठान हटियामा जारी केशवलाल श्रेष्ठ स्मृति जिल्लास्तरीय भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।
शनिबार भएको पहिलो सेमीफाइनलमा विनयबाबु प्रतिष्ठानले हेटौंडा–१९ को तपोवन टोल विकास संस्थालाई २५–१३, २५–११ र २५–१९ सोझो सेटमा हराउँदै उपाधि भिडन्त पक्का गरेको हो । यस्तै दोस्रो सेमीफाइनलमा आयोजक हटियाले आग्रा खेलकुद विकास समितिमाथि उत्कृष्ट जित निकाल्दै फाइनल प्रवेश गरेको हो ।
पहिलो दुई सेटमा पछि परिसकेको अवस्थालाई उल्ट्याउँदै आयोजकले उपाधि भिडन्त पक्का गरेको हो । आयोजकले आग्रालाई २५–१९, २५–१९, २१–२५, १९–२५ र १२–१५ को सेटमा हराउँदै फाइनलमा स्थान बनाएको हो । विनयबाबु प्रतिष्ठान र आयोजकबीचको फाइनल खेल आइतबार दिउँसो २ बजेबाट हुने आयोजकले जानकारी दिएको छ ।
बिहीबारबाट सुरु भएको प्रतियोगितामा मकवानपुरका १३ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले ६० हजार र उपविजेताले ४० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
सर्वोत्कृष्ट खेलाडीलाई ५ हजार र विधागत अन्य खेलाडीलाई नगद २ हजार रुपैयाँसहित ट्रफीको व्यवस्था गरिएको आयोजक हटिया स्पोर्टस् एकेडेमीका अध्यक्ष छवि सुवेदीले जानकारी दिए । भलिबलका मुख्य प्रशिक्षक केशवलाल श्रेष्ठको स्मृतिमा हटिया स्पोर्टस् एकेडेमीले प्रत्येक बर्ष जिल्लास्तरीय भलिबल प्रतियोगिताको आयोजना गर्दै आएको छ ।

