
हेटौँडा/ जिल्ला समन्वय समिति मकवानपुरको आयोजना र मकवानपुर जिल्ला खेलकुद विकास समितिको व्यवस्थापनमा जिल्ला स्तरिय प्रथम अन्तरपालिका पुरुष फुटबल प्रतियोगिताको तालिका सार्वजनिक गरिएको छ ।
मंसिर १८ गतेदेखी हेटौंडाको हुप्रचौरमा हुने प्रतियोगिताका लागि सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । प्रतियोगितामा जिल्लामा रहेका १० वटा स्थानीय तहले सहभागिता जनाउने जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले जानकारी दिए । १८ गते हुने उद्घाटन खेलमा हेटौंडा उपमहानगरपालिका र मनहरी गाउँपालिकाबीच खेल हुने भएको छ ।
प्रतियोगिताको विजेता टिमले नगद २ लाख रुपैयाँ र उपविजेजाले १ लाख रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त जिसस प्रमुख खुलालले बताए । यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५ हजार पुरस्कार पाउँने छन् भने सर्वाधक गोलकर्ता, उत्कृष्ट डिफेण्डर, मिडफिल्ड, गोलरक्षक र प्रशिक्षकले जनही ३ हजार रुपैयाँ प्राप्त गर्ने मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सानुकुमार लामाले बताए ।
प्रतियोगितामा सहभागि हुने खेलाडी सोही स्थानीय तहकै हुनुपर्ने नियम रहेको लामाले बताए । प्रतियोगिता मंसिर २५ गतेसम्म सञ्चालन हुनेछ ।

