
हेटौंडा/मकवानपुरको थाहा नगरपालिकाले आगामी शैक्षिक सत्रदेखि पालिकाभित्रका विद्यालयमा स्थानीय पाठ्यक्रम लागू हुने भएको छ । नगरपालिकाले पालिकाभित्रका सबै विद्यालयमा स्थानीय पाठ्क्रम ‘थाहा ज्ञानमाला’ तयार पारेर आगामी शक्षिक सत्रदेखि लागू गर्ने जनाएको हो ।
नगरपालिकाले दुई चरणमा गरी सो पाठ्यक्रम लागू गर्ने योजना अघि सारेको नगर प्रमुख लवशेर विष्टले जानकारी दिए । उनका अनुसार, नगरपालिकाले पहिलो चरणमा पालिकाभित्रका सबै विद्यालयको १ देखि ५ कक्षासम्म आगामी वर्षदेखि ‘थाहा ज्ञानमाला’ को पठनपाठन सुरु गर्ने र दोस्रो चरणमा ६ देखि ८ कक्षासम्म पाठ्यक्रम लागू गर्ने जनाइएको छ ।
त्यसका लागि नगरपालिकाले १ देखि ५ कक्षासम्मको स्थानीय पाठ्यक्रम तयार पारिसकेको छ । १ देखि ५ कक्षासम्मको पाठ्यक्रम तयार भएर पाठ्यपुस्तक छपाइको अन्तिम तयारी भइरहेको नगर प्रमुख विष्टले बताए । यता ६ देखि ८ कक्षाको हकमा भने पाठ्यक्रम मात्र निर्माण गरिएको उनले बताए । अब केही दिनभित्रै १ देखि ५ कक्षासम्मको पुस्तक छपाइको काम सुरु हुने उनको भनाइ छ । ६ देखि ८ कक्षाको हकमा भने दोस्रो चरणमा लागु गर्ने योजना रहेको उनले सुनाए ।

