मकवानपुरगढी गाउँपालिकालाई आज नेपालकै चौथो बालमैत्री गाउँपालिका घोषणा गरिदैं

हेटौंडा टुडे
१२ चैत्र २०७८, शनिबार ०७:११

हेटौंडा ।  मकवानपुरगढी गाउँपालिकालाई आज शनिबार नेपालकै चौथो बालमैत्री स्थानीय शासन नीतिगत अवलम्वन कार्यान्वयन तथा घोषणा गरिदैं छ  । गाउँपालिकामा १८ वर्षमुनिका ४ हजार ६२४ बालक र ३ हजार ६७२ बालिका गरि ८ हजार २९६ जना बालबालिका रहेको गाउँपालिकाको तथ्याङमा रहेको छ । बालमैत्री स्थानीय शासन कार्यान्वयन प्रक्रियाका कागजात व्यवस्थापनका लागि फाइन सुची तयारी कार्यशाला सम्पन्न भई ३३ प्रकारका फाइल खडा गरिएको बालमैत्री स्थानीय शासन कार्यक्रम सहसंयोजक कविराज हुमागाईले जानकारी दिएको छ ।

गाउँपालिका अध्यक्ष बिदुर हुमागाईं र प्रमुख प्रशासकीय अधिकृत पुडासैनीले बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८ अनुसार ५१ वटै सूचक पूरा गरेर गाउँपालिका घोषणा अनुमतिका लागि जिल्ला समन्वय समिति मकवानपुरलाई सिफारिस गरेका थिए । समितिले गाउँपालिका अनुमगन पश्चात अनुमतिका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सिफारिस गरेको थियो । बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बिहीवार गाउँपालिकालाई अनुमति प्रदान गरेको हो । बागमती प्रदेशका प्रमुख सचिव मुकुन्द प्रसाद निरौलाले गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनीलाई अनुमति पत्र प्रदान गरेका हुन् ।

आज हुने चौथो बालमैत्री गाउँपालिका घोषणा कार्यक्रममा राष्ट्रिय कलाकारहरु निशान भट्टराई, स्वस्तिका ढकाल, प्रकाश तामाङ तितुङ लगायत विभिन्न कला, झाँकी सहित प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेको प्रमुख अतिथ्यतामा वडा नंम्बर ५ मा रहेको शारदा माविको खेल मैदानमा आज दिउँसो १२ बजेपछि कार्यक्रम सुरु हुने गाउँपालिकाले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image