
हेटौंडा/आगामी जेठ १९ गते मकवानपुरमा हुने स्थानीय तह शहिद स्मृति अन्तराष्ट्रिय गोल्डकप प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।सोमवार पत्रकार सम्मेलन गर्दै आयोजक जिल्ला फुटबल संघ मकवानपुरले जेठ १९ देखि ३० गतेसम्म हुने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको साथै टाई सिट सार्वजनिक गरिएको हो ।
करिब १२ वटा टिमको सहभागिता रहने उक्त प्रतियोगितामा विभागीय क्लबहरु नेपाल आर्मी क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको (एपीएफ) क्लब, मनाङ मस्र्याङ्दी क्लब, फ्रेण्डस, खुमलटार युथ क्लब, सिमरा, सर्लाहीको बागमती युवा क्लब, विजय युथ क्लब हेटौंडा, चितवन–११, चर्च ब्वाइज क्लब र क्यामरुनको एभिनियर एफसी सहभागी रहने आयोजकले बताएको छ ।
प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले १० लाख रुपैयाासहित ट्रफी प्राप्त गर्नेछन् । त्यस्तै उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता तथा उत्कृष्ट प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ तथा प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद १० हजार रुपैयाासहित ट्रफी प्राप्त गर्नेछन् ।
प्रतियोगिताको सर्वीत्कृष्ट खेलाडलाई बुलेट मोटरसाइकल प्रदान गरिने प्रतियोगिता संयोजक प्रताप विष्टले जानकारी दिनुभयो । प्रतियोगिताको लागि करिब १ करोड १७ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । अघिल्लो संस्करणमा नेपाल आर्मी च्याम्पियन हुँदा घरेलु टिम उपविजेता बनेको थियो । प्रतियोगिता हेर्नको लागि पहिलो चरणको खेलमा एक सय, सेमिफाइनलमा दुई सय र फाइनलमा २५० रुपैयाँ टिकट मूल्य तोकिएको छ । प्रतियोगिता हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा हुनेछ ।

