
हेटौंडा /स्थानीय तह सहीद स्मृति अन्तराष्ट्रिय फुटबल प्रतियोगिता मकवानपुर गोल्डकपकोे चौथो संस्करण आजबाट सुरु हुँदै छ । हेटौंडा–५ स्थित पिप्ले रंगशालामा हुने उक्त खेल विहिबार (आज) दिउँसो ३ बजे उद्धाटन हुने आयोजकले जानकारी दिएको छ ।
उद्घाटन खेलमा सर्लाहीको बागमती युवा क्लब र सिमराको नव जनजागृति क्लब भिड्ने छन् ।
१२ टिमको सहभागिता रहने प्रतियोगितामा मनाङ मस्र्याङदी क्लब, खुमलटार युवा क्लव, नेपाल पुलिस क्लब, वागमती युवा क्लब सर्लाही, नवजन जागृति युवा क्लब सिमरा, विजय युथ क्लब हेटौडा, नेपाल आर्मी क्लव, फ्रेण्डस् क्लब, सशस्त्र प्रहरी क्लब, वि.एफ.सि. चितवन, चर्चव्वाईज क्लब र अन्तर्राष्ट्रिय क्लव एनिनियर एफसी क्यामरुनको सहभागिता रहने आयोजकले जनाएको छ ।
प्रतियोगिता आजबाट सुरु भई ३० गते समापन हुनेछ भने विजेता टोलिले शिल्ड,मेडल र प्रमाणपत्रसहित १५ लाख र उपविजेता टोलिले १० लाख प्राप्त गर्ने छन् । प्रतियोगितामा सर्वोकृष्ट खेलाडीलाई बुलेट बाइक प्रदान गरिने छ भने विद्यागत उत्कृष्ट खेलाडीलाइ २५ हजार र हरेक खेलमा म्यान अफ दि म्याच खेलाडीले १० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगितामा १ करोड १७ लाख ९२ हजार खर्च हुने आयोजकको अनुमान रहेको छ । प्रतियोगितालाई मकवानपुरको १० वटै स्थानीय तहले आर्थिक सहयोग गरेको छ । प्रतियोगिताको लागि हेटौंडा उपमहानगरपालिकाले २५ लाख,थाहा नगरपालिकाले १० लाख र अन्य ८ गाउँपालिकाहरुले ५/५ लाख सहयोग गरेका छन् ।
२०६२–०६३ को जनआन्दोलनका सहिदहरुको स्मृतिमा २०६४ सालमा हेटौंडामा पहिलो पटक राष्ट्रिय फुटबल प्रतियोगिताको आयोजना जिल्ला फुटबल संघ मकवानपुरले गरेको थियो । उक्त पहिलो पहिलो संस्करणको उपाधि थ्रिस्टार क्लबले जितेको थियो भने २०७५ मा भएको दोस्रो संस्करणको उपाधि घरेलु टोली मकवानपुर–११ ले जितेको थियो । यसैगरि,२०७६ मा भएको तेस्रो संस्करणको उपाधि त्रिभुवन आर्मी फुटबल क्लबले जितेको थियो ।

