हेटौंडा । देशभरका धेरै स्थानमा वर्षा भइरहेको छ । आज देशका धेरै स्थानमा मेघ गर्जन र चट्याङ सहित वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाकाअनुसार गए राती देशका विभिन्न क्षेत्रमा वर्षा भएको छ । ठूलो वर्षाका कारण हुन सक्ने सम्भावित जोखिम कम गर्नका लागि विशेष सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने मौसमविद्ले जानकारी दिएका छन् । देशका धेरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
भारी वर्षाले पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जन जीवनर यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । आजबाट तीन दिन मनसुन थप सक्रिय हुने विभागले जनाएको छ ।