हेटौडा । नेपाली कांग्रेस मकवानपुरले स्थानीय तहका जनप्रतिनिधिहरुलाई सम्मान गर्ने भएको छ । कांग्रेसको तर्फबाट जिल्लाको हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका र ८ वटै पालिकाको विभिन्न पदमा निर्वाचित जनप्रतिनिधिहरुलाई साउन ४ गते एक कार्यक्रमकाबीच सम्मान गरिने जिल्ला सभापति बुद्ध लामाले जानकारी दिए । जिल्लाको ५ पालिकाको प्रमुख, ४ पालिकाको उपप्रमुख र कूल १०२ वडामध्ये झण्डै आधा वडामा कांग्रेसले नेतृत्व गरेको छ ।
सो कार्यक्रममा कांग्रेसका उप–सभापति पूर्णबहादुर खड्कालगायत केन्द्रीयस्तरका नेताहरु र बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको समेत उपस्थिति रहने उनले बताए । त्यस्तै कार्यक्रममा अगुवा कार्यकर्ताहरुलाई अभिमुखिकरण गरिनुको साथै स्थानीय तहका उपविजेता उम्मेदवारहरुलाई हौसला प्रदान गरिने पार्टी सचिव भीमसेन महतले बताए ।सोही कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरको इतिहास समेटिएको पुस्तक ‘बृहत राजनीतिक दर्पण’ विमोचन गरिने प्रवक्ता अर्जुन चौंलागाईले जानकारी दिए ।