हेटौंडा । यही साउन ६ र ७ गते हेटौंडामा हुने नेपाल प्रेस युनियनको राष्ट्रिय महाधिवेशनको तयारी करिब अन्तिम चरणमा पुगेको छ । महाधिवेशनको लागि युनियनका केन्द्रीय पदाधिकारीसहितका नेताहरु हेटौंडा आइपुगेका छन् । स्थानीय आयोजक समिति मकवानपुरले महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको बताएको छ । मंगलबार बिहान पनि स्थानीय आयोजक समितिले हेटौंडामा छलफल कार्यक्रमको आयोजना गरेको थियो । छलफलका क्रममा स्थानीय आयोजक नेपाल प्रेस युनियन मकवानपुरका अध्यक्ष पोष्टराज अधिकारी कुमारले महाधिवेशनको तयारीका बिषयमा भइरहेको कामको जानकारी गराएका थिए ।
महधिवेशनमा सहभागी हुन देशभरबाट १७ सयको हाराहरीमा प्रतिनिधि सहित झन्डै २ हजार जना आउने जानकारी दिँदै अध्यक्ष अधिकारीले उनीहरुका लागी खाने र बस्ने व्यवस्थापन सहित अन्यत तयारीको काम चलिरहेको बताए ।महाधिवेशनको उद्घाटन नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने युनियनका केन्द्रीय सदस्य एवं स्थानीय आयोजक समितिका संयोजक राममणी दाहालले जानकारी दिए । उनले उद्घाटन कार्यक्रममा पार्टीका सभापति देउवासँगै उपसभापति द्वय पुर्णबहादुर खड्का, धनराज गुरुङ, महामन्त्री द्वय गगनकुमार थापा र विश्वप्रकास शर्मा, सहमहामन्त्री महा लक्ष्मी उपाध्याय डिना लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। तयारी का बिषयमा केन्द्रीय अध्यक्ष बद्री सिग्देल तथा पदाधिकारीले तथा कांग्रेस बागमती प्रदेश अध्यक्ष इन्द्रबहादुर बानियाँले स्थानीय आयोजक प्रेस युनियन मकवानपुरसँग छलफल तथा परामर्श समेत गरेको थियो।