हेटौडा । सम्पूर्ण कर्मचारीलाई कार्यालयमा पूरा बाहुला भएको लुगा लगाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आग्रह गरेको छ । डेङ्गी रोगको जोखिम कम गर्नका लागि मन्त्रालयका सह–प्रवक्ता डा। समीरकुमार अधिकारीले आज एक सूचना निकालेर सार्वजनिक, सामुदायिक र निजी क्षेत्रमा कार्यरत सम्पूर्ण कर्मचारीलाई कार्यालय आउँदा पूरा बाहुला भएको लुगा लगाउन अनुरोध गर्नुभएको हो।
एडिज जातको लामखुट्टे प्रायः दिनको समयमा, विशेषगरी बिहान र बेलुकाको समयमा सक्रिय हुँदा यो जातको लामखुट्टेको टोकाइबाट डेङ्गी रोग लाग्ने हुनाले लामखुट्टेबाट बच्नलाई मन्त्रालयले आग्रह गरेको हो । साथै डेङ्गी सङ्क्रमणको जोखिम कम गर्न कार्यस्थल वरिपरि निरन्तर सफा राख्न पनि डा। अधिकारीले आग्रह गर्नुभएको छ । केही समययता देशभर डेङ्गीका बिरामी बढ्दै गएका छन् । गएको साउनदेखि अहिलेसम्म आठ हजार तीन सय २७ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भइसकेको छ । जसमध्ये सबैभन्दा धेरै बाग्मती प्रदेशमा ६ हजार दुई सय पाँच जनामा सङ्क्रमण पुष्टि भएको छ ।