हटियामा बन्ने भयो मुख्यमन्त्रीको कार्यालय

हेटौंडा टुडे
२८ भाद्र २०७९, मंगलवार १६:०२

हेटौँडा । बागमती प्रदेश सरकारले प्रदेशको ‘सिंहदरबार’ अर्थात मुख्यमन्त्री सहित सम्पूर्ण मन्त्रीपरिषदको कार्यालय, सांसद भवन सहितका कार्यालयहरु हेटौँडा उपमहानगरपालिका वडा नंबर १६ हटियामा निर्माण गर्ने भएको छ ।

आज मंगलबार बागमती प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्र पाण्डेले पत्रकार सम्मेलनको आयोजना गर्दै प्रदेश सिंहदरबार निर्माणको तयारीबारे जानकारी दिएका हुन् । पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री पाण्डेले भने ‘हेटौँडा–१६ मा ५४ बिघा क्षेत्रफलमा प्रदेशको सिंहदरबार बन्छ । हामीले जग्गा छनोट गरेर संघीय सरकारलाई स्वीकृतिका लागि पठाइसकेका छौँ । केही दिनभित्रै त्यसको अनुमति आउँछ,’ पाण्डेले भने, ‘जग्गा स्वीकृत भएको एक हप्ताभित्र संरचनाको डिजाइन र निर्माण दुवै काम गर्ने गरी टेण्डर आह्वान गर्छौं ’

पाण्डेले पाँच वर्षसम्म साँघुरो तरबले काम गरिएको स्मरण गर्दै प्रदेश सरकारले आफ्ना प्रशासनिक भवनहरु बनाउनको लागि चालु आर्थिक वर्षमा १ अर्ब पाँच करोड रुपैँया विनियोजन गरेको बताए ।
हटियामा प्रदेशको मुख्यमन्त्री कार्यालय देखि सम्पूर्ण मन्त्रालय, लोकसेवा आयोग, विभिन्न आयोगका कार्यालय तथा प्रहरी विटहरु निर्माण हुने मुख्यमन्त्री पाण्डेको भनाई छ । हेटौँडाबाट करिब ११ किलोमिटर दुरीकम रहेको हटिया क्षेत्रमा बन्ने नयाँ मुकामले सो क्षेत्रमा प्रचुर मात्रामा सहरीकरण हुने संभावना पनि देखिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*