हेटौंडा । मकवानपुरमा थप २१९ जनामा डेंगु सक्रमण भएको छ । दैनिक सयौं विरामीको संख्या बढीरहेको मकवानपुरमा २४ घण्टामा २१९ जनामा डेंगु संक्रमण भएको स्वास्थ्य कार्यालय मकवानपुरका सुचना अधिकारी लक्ष्मण घिमिरेले बताए ।उनले २१९ जना मध्ये २०४ जना हेटौंडा उपमहानगरका, मकवानपुरगढीका ८ जना, मनहरीका ५ जना र भीमफेदीका २ जना रहेको बताएका छन् ।
गत श्रावण देखी मकवानपुरमा एक हजार ३७ जना पुरुष र ७९२ जना महिला गरी एक हजार ८२८ जनामा डेंगु संक्रमण भएको घिमिरेले बताए । मकवानपुरमा हेटौंडाका एक जना डेंगु सक्रमणको निधन भइसकेको छ । उच्चतम ज्वरो आउने र शरिर गल्ने जस्ता लक्षण देख्ना साथ नजिकको स्वास्थ्य संस्थाका परिक्षण गर्न स्वास्थ्य निकायहरुले आग्रह गरेको छ । बालबालिका र वयोवृद्धाहरुलाई बढी रेखदेख गरी सबैलाई झुलको प्रयोग गर्न सरकारले आग्रह गरेको छ ।
घर वरिपरि खाल्डाखुल्टीमा रहेका पानीहरु हटाउने, पानी जम्न नदिने र झुलको प्रयोग गर्नुपर्ने स्वास्थ्य कार्यालयले जनाएको छ । हेटौंडा क्षेत्रमा बढी रहेकाले सजग रहन आग्रह गरिएको छ । मकवानपुरमा हाल हेटौंडामा सबैभन्दा बढी त्यसपछि थाहा नगरपालिका पछि मकवानपुरगढीमा बढी संक्रमित भएका छन् । हाल सम्म इन्द्रसरोवरमा भने संक्रमित भएका छैनन् ।