वीरगञ्जमा सोमबारबाट विराट कुस्ती दंगल प्रतियोगिता सुरु भएको छ ।
वीरगञ्ज १६ इनर्वामा रहेको महाविर मन्दिर प्राङ्गणमा प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले उद्घाटन गरेका छन् । उनले प्रतियोगिता उद्घाटन गर्दै कुस्ती खेलाडी उत्पादनका लागि वीरगञ्जमा कुस्ती एकेडेमी र छुट्टै कुस्ती अखडा निर्माण गर्ने घोषणा गरे ।
उनले भने, ‘देशैभर नाम चिनाउने गरी यहाँबाट कुस्तीबाजहरु उत्पादन गर्ने पहिलेदेखिकै इच्छा छ, त्यसका लागि एउटा सुविधासम्पन्न कुस्ती अखडा होस भन्ने पहिल्यै लागेको हो, अब वीरगञ्ज महानगरले २ वर्षभित्र यहाँ कुस्तीका लागि छुट्टै स्टेडियम बनाउँछ ।’ उनले नेपाल र भारत दुवै देशका प्रतिष्पर्धी (पहलवान) हरु सहभागी प्रतियोगिताले दुई देश बीचमा रहेको पौराणिक र सांस्कृतीक सम्बन्धलाई थप प्रगाढ बनाउन सहयोग गर्ने धारणा समेत व्यक्त गरे ।
‘दुवै देशको सम्बन्ध राजनीतिक र कुटनीतिक नभएर सांस्कृतीक, पारम्परिक र पारिवारिक हो,’ उनले भने, ‘यसलाई तोड्न र यसलाई कमजोर बनाउन हुने हरेक प्रयास असफल हुन्छ । यस्ता प्रतियोगिता यसको उदाहरण हुन् ।’
मेयर सिंहले प्रतियोगितामा सहभागी पहलवानहरुलाई कुस्ती खेलको सम्मान गर्दै इमान्दारिताका साथ सही र पारदर्शी ढंगले लडाई लड्न सुझाव समेत दिए । प्रतियोगिता उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समितिका अध्यक्ष निरञ्जन सर्राफ, वडा नम्वर १६ का वडाध्यक्ष पर्शुराम चौरसिया, जसपाका युवा नेता इश्वर यादव लगायतकाको सहभागिता रहेको थियो । मेला समितिका अध्यक्ष पलकधारी प्रसाद यादवको सभापतित्वमा उद्घाटन सत्र सम्पन्न भएको हो ।
दुई दिनसम्म चल्ने प्रतियोगितामा नेपालसहित भारतको बनारस, गोरखपुर, गाजियाबाट, पंजाव, हरियाणा, दिल्ली, बिहार, पञ्जाब, जम्मु लगायतका ठाउँबाट ख्याती प्राप्त पहलमानहरुले सहभागिता जनाएका छन् । दिपावली तथा छठ पर्वको अवसर पारेर हरेक वर्ष यहाँ कुस्ती प्रतियोगिता आयोजना गरिँदै आएको छ ।