
हेटौडा-जबरजस्ती करणीको कसुरमा मुद्दा चलाइएका क्रिकेटर सन्दीप लामिछानेको थुनछेक बहस आज हुने भएको छ । मंगलबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा बयान सकिएपछि बुधबार थुनछेक बहस हुन लागेको हो ।
सम्भव भएसम्म बुधबार नै थुनछेक बहस सकाउने तयारी गरिएको छ । यद्यपि सरकारी वकिल र प्रतिवादीका वकिल गरी करिब १० जना थुनछेक बहसमा सहभागी हुने तयारी गरिएकाले आजै थुनछेक बहस सकिने वा नसकिने टुङ्गो छैन ।
बुधबार सुरुमा सरकारी वकिलका तर्फबाट सन्दीपलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने भन्दै त्यसका आधार र प्रमाण पेस हुनेछ । सन्दीपले गरेको कसुर, उनलाई हुनसक्ने सजाय, बाहिर राख्दा पुग्न सक्ने क्षति आदि कुरालाई मध्यनजर गर्दै सन्दीपलाई थुनामै राख्नुपर्ने भन्दै वादी नेपाल सरकारका तर्फबाट जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले सुरुवाती बहस गर्नेछ ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका सहन्यायाधिवक्ता अच्युतमणि नेउपानेका अनुसार सरकारी वकिलका तर्फबाट जिल्ला न्यायाधिवक्ता लक्ष्मण उपाध्याय घिमिरे, महेश प्रसाद खत्री, कृष्णा भण्डारी, सहायक जिल्ला न्यायाधिवक्ता सुप्रिया कुँवरले बहस गर्नेछन् ।

