संविधानको रक्षा र मुलुकको विकासका लागि गठबन्धनले जित्नुपर्छ : डिना

हेटौंडा टुडे
१८ कार्तिक २०७९, शुक्रबार १८:५४

हेटौडा । नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री एवम् मकवानपुर क्षेत्र नम्बर १ बाट सत्तारुढ गठबन्धनका उम्मेदवार महालक्ष्मी उपाध्याय डिनाले संविधानको रक्षा र मुलुकको विकासका लागि गठबन्धनले जित्नुपर्ने बताएकी छिन् । चुनावी कार्यक्रम अन्तर्गत शुक्रबार बकैया गाउँपालिका–२ धियाँलमा भएको कार्यक्रममा उनले गठबन्धनले हारेर एमालेले जिते फेरि प्रतिगमनको खतरा हुने बताएकी हुन् ।
गाउँपालिका र प्रदेश सरकारले गर्न नसक्ने ठूला योजनालाई गाउँगाउँमा ल्याउने उनको प्रतिबद्धता रहेको छ । ‘यहाँ धियाँलमा खानेपानी र सिचाईंको क्षेत्रमा काम गर्नुपर्ने देखिएको छ । यसका लागि यथाशिघ्र काम गर्नेछु’, डिनाले थपिन्, ‘जिम्मेवारी लिएर सिमानाको विवाद पनि टुङ्याउनेछु ।’ बर्षौंदेखि सुकुम्बासीले लालपूर्जा नभएको प्रसंमा उनले चुनावपछि हातहातमा लालपुर्जा पु¥याउन आफैं आउने प्रतिबद्धता जनाइन् । नेपाललाई यो अवस्थासम्म ल्याउन गिरिजाप्रसाद कोइराला, प्रचण्ड र माधव नेपालले भूमिका खेलेको स्मरण गर्दै उनले मुलुको विकास र समृद्धिका लागि गठबन्धन बनेको जानकारी दिइन् ।

केपी ओलीको निरंकुसता र उनले पटक पटक संसद् विघटन गर्दै जनमतमाथि प्रहार गरेपछि मुलुक जोगाउन कांग्रेस, माओवादी, नेकपा एस लगायतका दलहरु एक भएको उनको भनाई थियो । डिनाले मंसिर ४ को निर्वाचनलाई आफ्नो भविष्यसंग जोडेर हेर्न र सत्तारुढ गठबन्धनलाई जिताउन मतदातासंग आग्रह गरिन् । निर्वाचनपश्चात कांग्रेसको नेतृत्वमा गठबन्धन सरकार निर्माण हुने दावी गर्दै उनले जनताको सुखदुःखमा साथै रहनका लागि समानुपातिक छोडेर प्रत्यक्षतर्फ निर्वाचनमा होमिएको डिनाको भनाई थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*