हेटौंडा । सत्तारुढ गठबन्धनको तर्फबाट मकवानपुर क्षेत्र नम्बर १ को प्रदेशसभा ‘ख’ का उम्मेदवार नेपाली कांग्रेस मकवानपुरका नेता आनन्दराम पराजुलीले मतदाताको शिर निहुरिने काम नगर्ने बताएका छन् । चुनावी अभियानको क्रममा मंगलबार हेटौंडा ८ नम्बर वडामा भएको घरदैलो कार्यक्रममा उनले जनताको मतको सधैं सम्मान गर्दै जनताकै चाहना बमोजिम साझा भएर अघि बढ्ने प्रतिबद्धता जनाएका हुन् । ‘म बर्षौंदेखि जनताको साथमा रहेर नेपाली कांग्रेसको राजनीति गर्दै आएको छु । मकवानपुरबासीलाई परेको समस्यामा सकेसम्म साथै छु’, उनले भने, ‘राजनीतिलाई सेवा बनाएर जिल्लाको विकास र समृद्धिको अभियानमा लागिपरेको छु ।
यहाँको सम्भावना देखेको छु, विकासको योजना बनाएको छु ।’ मकवानपुर प्रदेश राजधानी भएपनि यहाँको भौतिक पूर्वाधार विकासमा धेरै काम गर्न बाँकी रहेकोले स्थानीय र प्रदेश सरकारसंगको समन्वयमा केन्द्र सरकारबाट बजेट ल्याएर काम गर्ने योजना रहेको सुनाए । यसअघि जितेर गएकाहरु मतदाताकोमा फर्केरै नआएको गुनासो सुनिएको भन्दै उनले गठबन्धन दलका उम्मेदवारले यस्तो गुनासो नआउने गरी काम गर्ने प्रतिबद्धता जनाए ।
यसअघि पटक पटक जितेको एमालेले देखिने काम केही गर्न नसकेको पराजुलीको भनाई थियो । ‘पटक पटक जितेर पनि केही कामै नगरेका एमालेका साथीहरु फेरि प्रलोभन र आश्वासनको पोको लिएर जनता झुक्याउन आएका छन् । कुनै योजना नै नभएपछि गठबन्धनको विरुद्ध अनेक अफवाह फैलाइरहेका छन्’, पराजुलीले भने, ‘नेपाली जनताले अब सबै कुरा बुझिसकेका छन् । जनमतको अपमान गर्ने एमालेलाई भोट दिनेछैनन् ।’ निर्वाचन पश्चात पनि सबैको साझा भएर जनताकै माझ रहेर काम गर्ने उनले प्रतिबद्धता जनाए ।