हेटौडा– मकवानपुरको क्षेत्र २ का गठबन्धनका प्रतिनिधि सभा उम्मेदवार विरोध खतिवडा र प्रदेश सभा (क)का उम्मेदवार कुमारी मोक्तानले विहीबार मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ र ६ मा घरदैलो गरेका छन् ।
वडा ५ को सिमलटार, कालिवन, धादिङ भालुखोला क्षेत्रमा उम्मेदवारद्धय खतिवडा र मोक्तानले घरदैलोमा पुगेर मत मागेका छन् । लोकतान्त्रिक बाम गठबन्धनका नेताहरु यतिराज सापकोटा, विष्णु दाहाल, सरोज खनाल लगायत जिल्ला तहदेखी पालिका तहसम्मका नेता तथा कार्यकर्ताहरुको उपस्थितीमा घरदैलो अभियान गरिएको कांग्रेस नेता यतिराज सापकोटाले बताए ।
उम्मेदवारद्धयले मकवानपुरगढीका बहुवर्षिय योजनाहरु, केही अपुरो र अधुरो योजनाहरु पूर्ण गर्न गठबन्धन सरकार प्रतिवद्ध रहेको बताएका थिए । खतिवडाले भने, मेरै पहलमा आएको डुम्रेकुनाको अस्पताललाई पूर्णता दिन र स्वास्थ्य क्षेत्रमा मकवानपुरगढी अब्बल बनाउन हामीहरु तयार रहेको बताएका छन् ।
सामरी खोलामा तटबन्धन गठबन्धन सरकारले मात्र गर्न सकिने बताउँदै समग्र पालिकामा आवश्यक प्रदेश र संघीय सरकारबाट बजेट ल्याई काम गरिने बताएका थिए ।
उम्मेदवारलाई शुभकामना दिदैं हाम्रो गाउँको विकासमा एमालेले केही नगरेकोले स्थानीय तहमा पनि उनीहरुलाई पराजित गरेका छौं यसपाली पनि उनीहरुलाई पराजित गर्छौं एक वृद्धले बताए । आफ्नो स्वार्थ र नातेदार मात्र हेर्ने भएकाले एमालेलाई पराजित गर्नुपर्ने स्थानीयहरुको गुनासो रहेको छ ।