
हेटौंडा | फिफा विश्वकपको आयोजकका एक उच्च अधिकारीले विश्वकपको तयारीमा ४०० देखि ५०० मजदुरको मृत्यु भएको पहिलो पटक स्वीकार गरेका छन् ।कतारले श्रमिकको मृत्युको बारेमा यति ठूलो आँकडा दिएको यो पहिलो पटक हो ।
अहिलेसम्म दिइएको तथ्याङ्क यो भन्दा धेरै कम थियो ।अङ्ग्रेजी पत्रिका बिजनेस स्ट्यान्डर्ड प्रकाशित समाचारका अनुसार कतारका शीर्ष नेता हसन अल थावादीले बेलायती पत्रकार पियर्स मोर्गनलाई दिएको अन्तरवार्तामा यो कुरा स्वीकार गरेका छन् ।
थावाडीले भने, ‘यो सङ्ख्या करिब चार सयदेखि पाँच सयको बीचमा छ । मसँग यकिन सङ्ख्या छैन, तर छलफल भइसकेको छ । तर स्पष्टसँग भन्नुपर्दा एक जनाको मृत्यु पनि धेरै नै बढी हो ।’
थावाडीका अनुसार मृत्यु हुनेमा विश्वकपका लागि रंगशाला, सडक, होटललगायतका पूर्वाधार निर्माणमा संलग्न मजदुरहरु रहेका छन् ।
यसअघि विश्वकपको तयारीका क्रममा ज्यान गुमाउनेको संख्या ३७ देखि ४० सम्म रहेको बताइएको थियो । यससँगै कतारले हृदयघातजस्ता कारणले उनीहरुको मृत्यु भएको बताउँदै आएको छ ।
सन् २०१० मा विश्वकप फुटबल आयोजनाका लागि अनुमति पाएपछि कतारले आफ्नो पूर्वाधार निर्माण गर्न थालेको छ ।
यसलाई अहिलेसम्मकै महँगो विश्वकप पनि मानिन्छ किनभने यसमा २०० अर्ब डलरभन्दा बढी खर्च भएको छ ।

