हेटौंडा भेट्रान्स क्लवको आयोजनामा फुटबल प्रतियोगिता पुस १९ गतेबाट

हेटौंडा टुडे
२७ मंसिर २०७९, मंगलवार ११:४१

हेटौंडा ।   हेटौंडा भेट्रान्स क्लवको आयोजनामा सञ्चालन हुँदै आएको ८ औं राष्ट्रिय हेटौंडा भेट्रान्स कप एट ए साइड फुटबल प्रतियोगिताको आठौं संस्करण यही पुष १९ गतेबाट सञ्चालन हुने भएको छ ।

२३ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको तयारीलाई तीव्र पारिएको आयोजकले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ । हेटौंडा ५ स्थित पिप्ले–क्याम्पा रंगशालामा हुने प्रतियोगितामा नेपालको विभिन्न शहरका करिब २० टिमको सहभागिता हुने आयोजकको अनुमान रहेको छ ।

प्रतियोगिताको विजेताले १ लाख ११ हजार १११ तथा उपविजेताले ५५ हजार ५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै सर्वोत्कृष्ट खेलाडीले १५ हजार, उत्कृष्ट फरवार्ड, डिफेन्स, मिडफिल्ड, गोलकिपर तथा प्रशिक्षकले जनही नगद ५ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने आयोजक हेटौंडा भेट्रान्सका सचिव कविन सांगामीले जानकारी दिए ।

यस्तै हरेक खेलको म्यान अफ द म्याच हुने खेलाडीलाई समेत पुरस्कारको व्यवस्था रहेको छ । प्रतियोगिताका लागि हेटौंडा भेट्रान्सका कार्यसमिति सदस्य राजकुमार श्रेष्ठलाई कार्यक्रम संयोजक बनाइएको छ । राष्ट्रिय हेटौंडा भेट्रान्स कप एट ए साइड फुटबल प्रतियोगिताका लागि करिब १५ लाख रुपैयाँ खर्च हुने आयोजकले अनुमान गरेको छ ।

‘प्रतियोगितामा मकवानपुरसहित बारा, पर्सा, पोखरा, काठमाडौं, चितवन, नवलपरासी लगायतका जिल्लाका भेट्रान्स क्लवको सहभागिता रहनेछ’, आयोजक हेटौंडा भेट्रान्सका अध्यक्ष रमेशकुमार उप्रेतीले जानकारी दिए । सम्भव भएसम्म बंगलादेश र भारतको पनि एक\एक वटा टिमको सहभागी गराउने प्रयास भैरहेको पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image