हेटौडा । डोल्पाबाट नेपालगन्जतर्फ जाँदै गरेको भे।१ ख।३५१९ नम्बरको ट्रक चेकजाँच गर्दा इजाजत विनै जडीबुटी ओसारपसार गर्ने दुई जनालाई जाजरकोट प्रहरीले केही दिनअघि पक्राउ गरेको हो। पक्राउ पर्नेमा जाजरकोटको छेडागाड नगरपालिका–७ का सुरेन्द्र शाही र ट्रक चालक बाँकेको कोहलपुर नगरपालिका–१२ का खगेन्द्र खत्री रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। ट्रकमा बिना इजाजत ८९ बोरा अर्थात २ हजार १ सय ९२ किलोग्राम जटामसी र १७ बोरा अर्थात् चार सय ७६ किलोग्राम पदमचाल फेला परेको थियो।
बरामद गरिएको जडीबुटी आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय जाजरकोटमा पठाइएको जिल्ला प्रहरी प्रमुख डीएसपी सन्तोष निरौलाले बताए। ‘हामीले डिभिजन वन कार्यालयमा विगोसहित बुझाएका हौं। त्यसपछिको प्रक्रिया हामीलाई थाहा छैन’, डीएसपी निरौलाले भने। डिभिजन वनले १० दिनको म्याद दिएर उनीहरूलाई प्रहरी हिरासतमै राखेर अनुसन्धान गरिरहेकोे जनाएको छ।