बागमती प्रदेश सरकारद्वारा लाइसेन्स ट्रायलको ७० अंक प्रणालीमा रोक

हेटौंडा टुडे
२१ पुष २०७९, बिहीबार ११:४२

हेटौंडा|बागमती प्रदेश सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) ट्रायलको ७० अंक प्रणालीमा रोक लगाएको छ । प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले बुधबारबाट लागू गर्ने अन्तिम चरणमा पुगेको लाइसेन्स ट्रायलको ७० अंक ल्याए उत्तिर्ण हुने प्रणालीमा रोक लगाएको हो ।

ट्रायल संचालकहरुले काठमाडौं उपत्यकामा लाइसेन्सका लागि ७० अंक प्रणाली लागू नगर्न दवाव दिइरहेको घटना सार्वजनिक भइरहेका बेला मुख्यमन्त्री कार्यालयले तेस्रो पटक हस्तक्षेप गरेर रोक लगाएको हो ।

मुख्यमन्त्री कार्यालयले प्रणालीका विषयमा अध्ययन गर्ने भन्दै प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयका सचिवको संयोजनमा समिति गठन गरी तत्कालका लागि प्रणाली लागू नगर्न निर्देशन दिएको छ ।

४ सदस्यीय समितिलाई प्रणाली कसरी लागू गर्न सकिन्छ भन्नेबारे एक महिनाभित्र सुझावसहितको प्रतिवेदन दिन भनिएको छ । पुस १० गते बागमती प्रदेश श्रम, रोजगार तथा यातायातमन्त्री घनश्याम दाहालको उपस्थितिमा ट्रायल सेन्टर संचालन गरिरहेका यातायात कार्यालय प्रमुखहरुले बुधबारदेखि ७० प्रतिशत प्रणाली लागू गर्ने प्रतिवद्धता जनाएका थिए ।

तर, मुख्यमन्त्री कार्यालयले १४ गते यातायात मन्त्रालयलाई पत्राचार गरेर रोक लगाएको जानकारी गराइएको हो । यो प्रणाली ४ वटा प्रदेशमा लागू भइसके पनि बागमतीमा भने मुख्यमन्त्री कार्यालयको हस्तक्षेपका कारण पटक–पटक रोकिँदै आएको हो ।

५ महिनाअघि प्रदेशका सबै यातायात कार्यालयको सहमतिमा प्रदेश यातायात मन्त्रीस्तरीय बैठकले अंक प्रणाली लागू गर्ने निर्णय गरेको थियो । निर्देशिका जारी भएको करिब २ वर्षपछि लाइसेन्समा अंक प्रणाली लागू गर्न खोज्दा मुख्यमन्त्री कार्यालयले गत मंसिर १५ गते पत्र नै लेखेर रोकेको थियो । गत असोज २ गतेबाट लागू गर्ने तयारी गरेकोमा मुख्यमन्त्री कार्यालयले प्रदेश यातायात मन्त्रालयलाई रोकेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*